अब आँखा उपचार वडा नं ८ मा रहेको शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र, नयाँबजारमा

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पोखरा, साउन २१ – पोखरा महानगरपालिका वडा नं. ८ मा रहेको शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र, नयाँबजार र दृष्टि आँखा अस्पतालबीच एक महत्त्वपूर्ण सम्झौता भएको छ। दुई संस्थाबीच आज एक समझदारीपत्रमा हस्ताक्षर भएसँगै अब उक्त शहरी स्वास्थ्य केन्द्रमा आँखा स्वास्थ्य सेवा सुरु हुने भएको छ।

यो सेवा सुरु भएसँगै पोखराको मुटुमा रहेका स्थानीय बासिन्दाहरूले आफ्नो घर नजिकैबाटै आँखाको जाँच, परामर्श र उपचारजस्ता सुविधा सहजै प्राप्त गर्न सक्नेछन्।

वडा नं. ८ का अध्यक्ष रूद्रनाथ बरालको यस पहलले वडावासीहरूलाई आँखाको जाँचमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन महत्त्वपूर्ण योगदान पुग्ने छ।

कार्यक्रममा बोल्दै स्वास्थ्य महाशाखा प्रमुख भरतराज पौडेले सार्वजनिक र निजी क्षेत्रको सहकार्यले स्वास्थ्य सेवालाई विस्तार गर्न सहयोग पुग्ने कुरामा जोड दिएका थिए। दृष्टि आँखा अस्पतालको प्राविधिक सहयोगमा यो सेवा नियमित रूपमा सञ्चालन गरिने जानकारी पनि गराइएको छ।

कार्यक्रममा स्वास्थ्य महाशाखा प्रमुख भरतराज पौडेल, वडा सदस्यहरू पवित्रा के.सी., हिरा काजी श्रेष्ठ, लक्ष्मी बी.क, गोविन्द बराल तथा दृष्टि आँखा अस्पतालका सञ्चालक शिव भण्डारीको उपस्थिति थियो।

कार्यक्रमको सञ्चालन शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रका कर्मचारी सुनिता गिरीले गर्नुभएको थियो।