पोखरा,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले शनिबार पोखरामा रिसाइक्लिङ तथा अपसाइक्लिङ (आरयू) फेस्टको अवलोकन गरेकी छन् । मन्त्री नियुक्त भएपछि पहिलोपल्ट पोखरा आएकी उनले पोखरा इभेन्ट सेन्टरमा पुगेर फेस्टको अवलोकन गरेकी हुन् ।
फेस्टमा उनले पुराना र खेर गएका प्लास्टिक, सिसा, कपडा लगायतको पुनर्प्रयोग र पुनर्प्रशोधनबाट बनाइएका सामग्रीको अवलोकन गरिन् । फेस्टको अवलोकन गर्दै उनले फोहोर व्यवस्थापनसँगै हरित रोजगारी सिर्जना भएको भन्दै फेस्टको प्रशंसा गरिन् । ‘रिसाइक्लिङ र अपसाइक्लिङले फोहोर मात्रै व्यवस्थपन हुँदैन, रोजगारी पनि सिर्जना हुन्छ भन्ने उदाहरण फेस्टिभलमा देखिएको छ,’ उनले भनिन्, ‘नेपालका अन्य सहरका लागि पनि यो परियोजना उदाहरणीय बन्न सक्छ ।’
पोखरा महानगरपालिकास“गको सहकार्यमा कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) को आर्थिक सहयोग तथा संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) को प्राविधिक सहयोगमा पोखरामा सञ्चालित रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना परियोजना (जीसीआरयू) अन्तरगत आरयु फेस्ट शुक्रबार सुरु भएको थियो ।
फेस्टको दोस्रो तथा अन्तिम दिन शनिबार उत्पादक स्वयंमलाई फोहोर व्यवस्थापन प्रति उत्तरदायी बनाउन संवादको आयोजना गरिएको थियो । उद्योग वाणिज्य संघका प्रतिनिधि, वातावरणविद् र व्यवसायीस“ग अनिल चित्रकारले ‘हरित चक्रीय अर्थतन्त्रमा उत्पादकको विस्तारित उत्तरदायित्व’ विषयमा संवाद चलाए । शनिबार नै कम गुणस्तरका प्लास्टिकको पुनर्प्रयोग गरी घरायसी सामान बनाउने प्रविधि, काठको विकल्पमा रिसाइकल गरिएको प्लास्टिक प्रयोगको प्रविधि, पुराना प्लास्टिकबाट कालोपत्र गर्ने प्रविधिका बारेमा विज्ञले आफ्नो प्रस्तुति राखेका थिए । रिसाइकल र अपसाइकल उद्योगको दिगोपनाका बारेमा फेस्टमा सहभागीले बुझ्ने मौका पाए । फोहोरबाट बनाइएका कपडाको पनि फेस्टमा प्रदर्शन गरिएको थियो । शनिबार सकिएको फेस्टमा दुई दिनसम्म झण्डै ५ हजारजनाले अवलोकन गरेका छन् ।
फेस्टको शुक्रबार पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य, कोइकाका कन्ट्री डिरेक्टर मोहेओन कोङ् र युएनडिपीका प्रतिनिधि जुलियन चेभीलार्डले उद्घाटन गरेका थिए ।
फेस्टिभलमा देशभरिका नवप्रर्तनयुक्त रिसाइक्लिङ र अपसाइक्लिङ उत्पादनहरूको प्रदर्शनी, फोहोरलाई उपयोगी वस्तुमा रूपान्तरण गर्ने प्रक्रियाको प्रत्यक्ष प्राविधिक डेमो सो, जलवायु, दिगो पर्यटन विकास, हरित उद्यमशीलता र प्लास्टिक टु रोड प्रविधि माथि संवाद, युवाहरूका लागि सिर्जनात्मक कार्यशाला, सार्वजनिक कला प्रदर्शनी, सहभागितामूलक गतिविधिहरू प्रस्तुत, दक्षिण कोरियाको सफलता अनुभवमाथि विशेष संवाद सत्र, हरित रोजगारी, बजार पहुँच र दिगो जीविकोपार्जनका उपायहरू लगायत विषयहरू माथि चर्चा परिचर्चा भएको थियो ।
हाल रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना परियोजना अन्तरगत कोइकाको ९.८ मिलियन अमेरिकी डलर र युएनडिपीको ०.८७ मिलियन अमेरिकी डलर आर्थिक सहयोगमा पोखरामा ग्रिन भेन्चर जोन (जिभिजेड) सेन्टर निर्माण भइरहेको छ । पोखरा महानगरपालिका क्षेत्रमा १३६ वटा सामुदायिक समूहहरू निर्माण गरी उनीहरूलाई आवश्यक तालिम तथा प्राविधिक प्रशिक्षण पनि प्रदान गरिएको छ । ‘यस परियोजनाले युवाहरूलाई रोजगारीसँग जोड्ने छ भने, हरित अर्थतन्त्रको विकासमा महत्त्वपूर्ण योगदान गर्नेछ,’ नगर प्रमुख आचार्यले भने ।
फोहोरमैलाको उचित व्यवस्थापन मार्फत हरित रोजगारी सृजना र चक्रीय अर्थतन्त्रको सृजनशील उपयोग आम समुदायका लागि निकै महत्त्वपूर्ण हुने विश्वास गरिएको छ । हरित अर्थतन्त्रमा योगदान पु¥याउने आरयू उद्यमहरूलाई बढवा दिन दिगो नीतिको सुनिश्चितता सहित महानगरपालिकाले परियोजनाको स्वामित्व लिनेछ । परियोजना मार्फत आगामी २ वर्षमा ३ हजार रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ ।