नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र नेकपा माओवादी केन्द्रका नेता सुदन किरातीबीच शनिबार ललितपुरको हात्तीवनमा भेटवार्ता भएको छ। भेटमा समसामयिक राजनीतिक परिस्थिति, कम्युनिस्ट आन्दोलनको भविष्य र सहिदहरूको सपना साकार गर्ने विषयमा गम्भीर छलफल भएको छ।
नेता किरातीले भेट निकै सकारात्मक र भावनात्मक वातावरणमा सम्पन्न भएको बताए।
‘आँखीझ्यालको फ्रेम प्रतिकात्मक हो,’ नेता किरातीले भने, ‘कमरेड विप्लव आँखीझ्यालबाट नेपाली राजनीति र कम्युनिस्ट आन्दोलनलाई कसरी हेरिरहनुभएको छ भन्ने सन्दर्भमा यो एक गहिरो प्रतीक हो।’
भेटमा सहिदप्रति सम्मान प्रकट गर्दै सहिदको सपनाको बाटोमा कम्युनिस्ट आन्दोलन अगाडि बढ्नुपर्नेमा दुवै नेताले जोड दिएका थिए। साथै, वर्तमान समयमा नेपाली कम्युनिस्ट आन्दोलन विभाजित र विशृंखलित अवस्थामा रहेकोप्रति चिन्ता व्यक्त गरिएको थियो।
‘नेपाली कम्युनिस्ट आन्दोलनप्रति उहाँ (विप्लव) मा गहिरो हुटहुटी र इच्छाशक्ति देखेँ,’ नेता किरातीले भने ।