प्रथम राष्ट्रिय कोदो दिवस, २०८२ पोखरामा पनि मनाइएको छ । पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाको आयोजना कोदोजन्य बालिका परिकारहरूको प्रदर्शनी तथा कोदो उत्पादक कृषकहरू सम्मान गरिएको छ ।
“कोदोजन्य परिकारको आहार: खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार” भन्ने नाराका साथ देशव्यापी रूपमा मनाइएको राष्ट्रिय कोदो दिवसका अवसरमा पोखरा लामो समयदेखि कोदो खेतीमा संलग्न र सबैभन्दा धेरै कोदो उत्पादन गर्ने चार जना कृषकहरूलाई नगर प्रमुख धनराज आचार्यले सम्मान समेत गर्नुभएको छ । करिब ८ रोपनी क्षेत्रफलमा कोदोखेति गर्ने पोखरा १६ की बबिता गुरुङ, करिब ८ रोपनी क्षेत्रफलमा कोदोखेति गर्ने पोखरा २८ की अम्बिका भण्डारी, १० रोपनी क्षेत्रफलमा कोदो खेती गर्ने पोखरा २३ का सचेन गुरुङ र १२ रोपनी क्षेत्रफलमा कोदोखेति गर्ने पोखरा पोखरा २१ का कर्ण बहादुर थापालाई नगद सहित सम्मान गरिएको हो ।
पोखरा महानगरपालिका रैथाने बालीको संरक्षण तथा विकासका लागि प्रतिबद्ध रहेको उल्लेख गर्दै नगर प्रमुख आचार्यले उत्पादनमा जोड दिनुभयो । रैथाने बालीहरू उपेक्षित बन्दै लोपोन्मुख अवस्थामा पुगेको प्रति गहिरो चिन्ता व्यक्त गर्दै उहाँले स्वास्थ्यका लागि अति नै उपयोगी कोदोजन्य बालीको उत्पादन समेत घटेको बताउनुभयो । उत्पादनमा वृद्धिमा जोड दिँदै उहाँले महानगरपालिकालाई कोदोजन्य उत्पादनमा आत्मनिर्भर बनाउनुपर्ने बताउनुभयो । महानगरपालिका पछिल्लो समय दुधदहि, अण्डा लगायत केही तरकारीहरूमा आत्मनिर्भर भइसकेको उल्लेख गर्दै उहाँले उत्पादित कृषिजन्य उपजहरूको बजारीकरणका लागि आवश्यक सहयोग तथा समन्वय गरिने बताउनुभयो ।
परम्परागत बालीको संरक्षण, कोदोजन्य पोसिलो अन्नको प्रवर्द्धन, कृषकहरूको आम्दानी वृद्धि, कोदो खेती प्रति कृषकहरूको आकर्षण वृद्धि र स्थानीय खाद्य प्रणाली सुदृढ तथा खाद्य सुरक्षालाई टेवा प्रदान गर्ने मुख्य उद्देश्यले कोदो दिवस विशेष कार्यक्रम गरिएको महाशाखाका प्रमुख मनहर कडरियाले बताउनुभयो । उहाँका अनुसार यसको प्रवर्द्धन तथा कृषकहरूको आकर्षण बढाउनका लागि महानगरपालिकाले न्यूनतम समर्थन मूल्य समेत उपलब्ध गराउँदै आएको छ ।