नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानमा रहेको व्यवस्थाका कारण अहिले नेपालमा कुनै पनि पार्टीको बहुमत आउने अवस्था नरहेको बताएका छन् ।
पार्टीको थारु विभागले पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार गरेको कार्यक्रममा सभापति देउवाले संविधानका कारण कुनै पनि पार्टीसँग मिलेर सरकार बनाउनुपर्ने बाध्यता रहेको बताए ।‘संविधानका कारण कुनै पनि पार्टीको बहुमत आउन सक्ने अवस्था छैन,’ देउवाले भने, ‘संविधानकै कारण कुनै न कुनै पार्टीसँग मिलेर सरकार बनाउनुपर्ने बाध्यता रहेको छ ।’
देउवाले पार्टी एक ढिक्का भएर अगाडि बढेमा बहुमत आउन सक्ने अवस्था निर्माण हुने भन्दै पार्टीमा एकता कायम गर्न सबैलाई आग्रह गरे ।संविधान देशमा बसोबास गर्ने जातजाति र भाषाभाषीलाई जोड्ने गरी समावेशी किसिमले बनाइएको बताए ।
कांग्रेस थारुलाई माया गर्ने पार्टी भएको बताउँदै कांग्रेस नेतृत्वको सरकार भएको बेलामा थारुहरूका लागि गरिएका निर्णयसमेत सुनाए । कांग्रेसले परशुनारायण चौधरीलाई पार्टी महामन्त्री बनाएको, मुलुक सङ्घीयतामा गएपछि कांग्रेसले नै पहिलो पटक थारुलाई मुख्यमन्त्री बनाएको देउवाको भनाइ थियो । कांग्रेस प्रदेश सांसद डिल्ली चौधरी लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका थिए ।
त्यस्तै देउवाले दास प्रथाको रूपमा रहेको कमलहरी प्रथा कांग्रेस नेतृत्वको पालामा हटाएर मुक्त कमलहरी घोषणा गरिएको पनि बताए । नेपालका थारुहरू जस्तोसुकै अप्ठ्यारो परिस्थिति आएपनि राष्ट्रियताका लागि लड्दै आएका बताउँदै थारुहरूले अङ्गाल्दै आएको बडघर प्रथा लोकतान्त्रिक व्यवस्था भएको बताए ।