पोखराको शिद्देश्वर शिवमन्दिरमा श्रावण २३ देखि शिवपुराण महायज्ञ हुने

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

मदन गिरी /पोखरा, । कास्कीको पोखरा महानगरपालिका वडा नं १५ मा रहेको शिद्देश्वर शिवमन्दिरमा आगामी श्रावण २३ गतेदेखि शिवपुराण महायज्ञ आयोजना हुने भएको छ। मन्दिर व्यवस्थापन समितिका अनुसार श्रावण ३१ गतेसम्म चल्ने उक्त महायज्ञको तयारी तीव्र पारिएको छ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष चित्र बहादुर भण्डारीले दिएको जानकारी अनुसार, विगतमा प्रत्येक वर्ष श्रावण महिनामा हुँदै आएको शिवपुराण महायज्ञ चार वर्षदेखि रोकिएको थियो। यस वर्षदेखि पुनः त्यसलाई निरन्तरता दिन लागिएको हो। उहाँले महायज्ञबाट संकलन हुने रकम मन्दिरको सर्वाङ्गीण विकासमा खर्च गरिने बताउनुभयो।

महायज्ञमा भागवत भाष्कर युवा पण्डित कमलनयन गौतमले नौ दिनसम्म शिवपुराणको कथा वाचन गर्नुहुनेछ। पण्डित गौतम शिवपुराण वाचनका लागि परिचित हुनुहुन्छ।महायज्ञको पहिलो दिन, श्रावण २३ गते, भव्य कलशयात्राको आयोजना गरिने पनि अध्यक्ष भण्डारीले जानकारी दिनुभयो।

नेपालभर करिब ५ सय आजीवन सदस्य रहेको यस मन्दिरले आयोजना गर्ने महायज्ञमा भक्तजनहरूको उत्साहजनक सहभागिता रहने अपेक्षा गरिएको छ। महायज्ञले धार्मिक पर्यटनमा समेत टेवा पुर्‍याउने विश्वास लिइएको छ।