फेवाताल सफाइ अभियान: थप ५ दिनको लागि बजेटसहित कार्यक्रम, मेयर आचार्यद्वारा स्थलगत अवलोकन

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पोखराको मुटु फेवातालको सौन्दर्य जोगाउन निरन्तर चलिरहेको जलकुम्भी सफाइ अभियानलाई थप ५ दिनका लागि विस्तार गरिएको छ । पोखरा महानगरपालिकाले सुरुमा २५ जनालाई १० दिनका लागि खटाएकोमा, अभियानको प्रभावकारिता र आवश्यकतालाई मध्यनजर गर्दै यसलाई विस्तार गरी कुल १५ दिन पुर्याएको हो । यसका लागि महानगरपालिकाले २ लाख २६ हजार ५ सय रुपैयाँ ज्याला भुक्तानी गर्ने निर्णय गरेको छ ।

अभियानको दशौं दिन, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सफाइ कार्यक्रमको स्थलगत अवलोकन गर्नुभयो । उहाँले सफाइमा खटिएका कामदार तथा स्वयंसेवकहरूको प्रशंसा गर्दै यस्ता असल कार्यमा महानगरपालिकाको सधैं साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । “फेवाताल हाम्रो साझा सम्पत्ति हो र यसको संरक्षण गर्नु हामी सबैको कर्तव्य हो,” मेयर आचार्यले भन्नुभयो, “तपाईंहरूको यो मिहिनेतले फेवातालको सुन्दरतालाई पुनर्जीवन दिएको छ ।”

सुरुमा २५ जना कामदारलाई दैनिक रु ६०४ का दरले १० दिनको लागि परिचालन गरिएको थियो । पछि थप ५ दिनको कार्यक्रम थपिँदा कुल ज्याला रकम २,२६,५०० रुपैयाँ पुगेको हो ।

फेवातालमा वर्षायामपछि देखिने जलकुम्भी झारले तालको सौन्दर्यमा असर पार्दै आएको छ ।यसलाई हटाउन पोखरा महानगरपालिकाले विभिन्न समयमा अभियान सञ्चालन गर्दै आएको छ ।यी अभियानहरूमा नागरिक समाज, विभिन्न संघसंस्था, आमा समूह, युवा क्लब र स्थानीय समुदायको स्वतःस्फूर्त र सक्रिय सहभागिता रहँदै आएको छ ।

फेवातालको संरक्षण पोखराको पर्यटन, अर्थतन्त्र र जनस्वास्थ्यसँग जोडिएको महत्वपूर्ण विषय हो ।नागरिकस्तरबाट देखाइएको यस्तो चासो र महानगरपालिकाको साथले फेवाताल संरक्षणमा टेवा पुग्ने विश्वास लिइएको छ । आगामी दिनमा पनि यस्ता अभियानलाई निरन्तरता दिने र ताल संरक्षणका लागि दीर्घकालीन योजनाहरू बनाउने महानगरपालिकाले जनाएको छ ।