औद्योगिक व्यवस्थापन लिमिटेडलाई एक हप्ताभित्र कार्ययोजना लिएर हाजिर हुन उद्योगमन्त्रीको निर्देशन

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले औद्योगिक व्यवस्थापन लिमिटेडलाई एक हप्ताभित्र कार्ययोजना लिएर मन्त्रालयमा हाजिर हुन निर्देशन दिनुभएको छ ।

औद्योगिक व्यवस्थापन लिमिटेडको ३८ औं वार्षिक उत्सवको अवसरमा आयोजित समारोहमा मन्त्री भण्डारीले यस्तो निर्देशन गर्नुभएको हो ।

मन्त्री भण्डारीले अहिलेकै जसरी अब पनि संस्था चल्ने कुरा सह्य नहुने बताउनुभयो । उहाँले जिडिपिमा उद्योगको योगदान घटेको भन्दै यसलाई वृद्धि गर्न अब प्रभवकारी हिसाबले लाग्नुपर्ने बताउनुभयो । उहाँले १५ प्रतिशतको हिस्सा ५ प्रतिशतमा झर्नु लाजमर्दो विषय भएको भन्दै अब सरकारले औद्योगिक क्षेत्र बढाएर उद्योगीहरुलाई आमन्त्रण गर्नुपर्ने आजको आवश्यकता रहेको बताउनुभयो ।

मन्त्री भण्डारीकाअनुसार अब औद्योगिक पूर्वाधार बनाउनुपर्छ । कुनैपनि उद्योगी व्यवसायीले जग्गामा लगानी गरेर पूर्वाधार बनाउन कठिन छ । छिमेकी मुलुकहरुमा पनि सरकारले नै औद्योगीक पार्क बनाएर उद्योगीहरुलाई उद्योग चलाउन दिर्दै आएको छ, त्यसबाट सिक्नुपर्छ ।

मन्त्री भण्डारीले राज्यले उद्योगलाई सहज रुपमा औद्योगिक पूर्वाधार दिएपछि उद्योग क्षेत्र स्वतः फस्टाउने बताउनुभयो । उहाँकाअनुसार एउटा आकर्षक औद्योगिक क्षेत्र बनाएर उद्योगीहरुलाई आउनुस् भनेर आमन्त्रण गर्ने काम अब राज्यले गर्नैपर्छ । त्यसका लागि औद्योगिक व्यवस्थापन लिमिटेड जस्ता निकायहरुले प्रभावकरी हिसावले काम गर्न जरुरी रहेको मन्त्री भण्डारीको भनाई रहेको छ ।

मन्त्री भण्डारीले पहिलो पटक केपी शर्मा ओली प्रधानमन्त्री बन्दा सात वटा प्रदेशमा सात वटा ठूला पूर्वाधार बनाउने निर्णय भएर शिलन्याश भएपनि आज एक दशक पुग्दा समेत शुरु हुन नसक्नु दुर्भाग्य भएको बताउनुभयो । उहाँकाअनुसार अहिले ती शिलन्याश भएका ठाउँमा प्रक्रियाका नाममा काम शुरु हुन सकेका छैनन् । ती पूर्वाधारहरु बनाएर उद्योग क्षेत्र विस्तार गरि उद्योगको जिडिपिको हिस्सा ५ प्रतिशतबाट २० प्रतिशतमा पु¥याउनुपर्छ ।

मन्त्री भण्डारीले एउटा औद्योगिक क्षेत्र बनाउन १० अर्ब लाग्छ भने अब पीपीपी मोडलमा औद्योगिक पार्क बनाउँदै लैजानुपर्नेमा मन्त्री भण्डारीले जोड दिनुभयो । उहाँले संसदबाट पास भएको बजेटलाई कार्यान्वयन गर्ने गरी अघि बढ्न समेत औद्योगिक व्यवस्थापन लिमिटेडलाई निर्देशन दिनुभएको छ ।