धुलिखेल–खावा सडक विस्तारका लागि पुनः ठेक्का खुल्यो

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

धुलिखेल–खावा सडक खण्ड विस्तारका लागि पुनः ठेक्का खुलाएको छ । भक्तपुर सडक डिभिजन कार्यालयले बिहीबार सूचना जारी गर्दै उक्त सडक विस्तारका लागि ठेक्का आह्वान गरेको हाे । इच्छुक निर्माण कम्पनीले ठेक्का आह्वान भएको ३० दिनभित्र आवेदन दिन सक्ने जनाइएको छ  ।

यसअघि यो सडक विस्तार कार्य समयमै सम्पन्न नहुँदा ठेक्का रद्द गरिएको थियो । २०७९ जेठ २० गते सबैभन्दा कम रकम कबोलमा गौरी–पार्वती निर्माण सेवालाइ ठेक्का दिइएको थियो । २० करोड १९ लाख ४६ हजार ५०१ रुपैयाँ २२ महिनाभित्र निर्माण सक्ने सर्तमा ठेक्का लगाएको सम्झौताको समय सीमा सकिएको ११ महिनापछि रद्द गरिएको थियो ।

उक्त सडक खण्ड अरनिको राजमार्गसँग जोडिएको र यसैबाट तातोपानी नाका हुँदै चीन तथा दोलखा, रामेछाप जस्ता जिल्लामा आवत जावत हुन्छ । करिब ४ किलोमिटर सडकलाई १२ मिटर चौडा पारेर कालोपत्र गर्ने योजनाअनुसार निर्माण थालिएको थियो । तर निर्माण व्यवसायीले समयमा निर्माण सम्पन्न नगरेपछि ठेक्का रद्ध गरिएको थियो ।