पोखरा, साउन १ — सरकारले सुनचाँदीमा लगाएको विलासीता कर र मूल्य अभिवृद्धि कर (भ्याट) को विरोधमा पोखरामा सुनचाँदी व्यवसायीहरूले पुनः आन्दोलन सुरु गरेका छन्। कास्की जिल्लाका व्यवसायीहरू आन्दोलित हुँदै साउन ४ गतेसम्म सुनचाँदी पसलहरू बन्द गर्ने निर्णयमा पुगेका हुन्।
आन्दोलनको निर्णय पोखरामा भएको संयुक्त व्यवसायीहरूको भेलाबाट गरिएको हो। सुनचाँदी व्यवसायी संघ कास्कीका प्रवक्ता राजकुमार घिमिरेका अनुसार, सरकारले सुनचाँदीलाई विलासी वस्तुको रूपमा वर्गीकरण गरी १३ प्रतिशत भ्याट र २ प्रतिशत विलासीता कर लगाएको छ। यसले व्यवसाय संकटमा पार्नुका साथै उपभोक्तामाथि समेत अतिरिक्त बोझ थपिएको व्यवसायीहरूको गुनासो छ।
प्रवक्ता घिमिरेले थप बताए अनुसार, नेपाल सुनचाँदी व्यवसायी महासंघले पुरानै कर प्रणालीमा फर्कन सर्कुलर गरेपछि व्यवसायीहरू अन्योलमा परेका थिए। तर, सरकारसँग भएको पटक–पटकको वार्ता निष्कर्षविहीन बनेपछि कास्कीका व्यवसायीहरू सशक्त आन्दोलनमा उत्रिन वाध्य भएका छन्।
उनीहरूले साउन ४ गतेसम्म पसल बन्द गरी आन्दोलनको चेतावनी दिएका छन्। यो अवधिमा सरकारसँग पुनः वार्ता हुने सम्भावना छ, तर त्यसले पनि सकारात्मक मोड लिएकै अवस्थामा मात्र पसल खोल्ने निर्णय व्यवसायीहरूको छ।
आन्दोलनको पहिलो चरण शान्तिपूर्ण ढंगबाट भइरहेको जनाइएको छ। व्यवसायीहरूले उपभोक्ताको असुविधाप्रति खेद व्यक्त गर्दै सरकारलाई व्यवसायमैत्री नीति ल्याउन आग्रह गरेका छन्। आन्दोलनको प्रभाव पोखरा लगायत आसपासका सुनचाँदी बजारहरूमा देखिन थालेको छ।