खानेपानी मन्त्री यादव स्वदेश फिर्ता

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

खानेपानी मन्त्री प्रदीप यादव आज स्वदेश फिर्ता भएका छन् । संयुक्त राष्ट्रसङ्घको आयोजनामा ३० जुनदेखि ३ जुलाई २०२५ सम्म स्पेनको सेभिल्लामा सञ्चालन भएको विकासका लागि वित्तीयकरण शीर्षकको चौथो अन्तर्राष्ट्रिय सम्मेलनको छलफल कार्यक्रममा सहभागी हुन मन्त्री यादव असार १५ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।

उक्त सम्मेलनमा भाग लिनका लागि मन्त्री यादव सहित मन्त्रालयका सचिव इन्जिनियर प्रमिलादेवी शाक्य बज्राचार्य समेत स्पेन प्रस्थान गरेकी थिइन् । उक्त कार्यक्रममा नेपालको राष्ट्रिय प्रतिबद्धता-सबैका लागि सुरक्षित खानेपानी र सरसफाइ सुनिश्चित गर्ने- बारे अन्तर्राष्ट्रिय समुदायलाई अवगत गराइएको मन्त्री यादवका निजी सचिव एवं उपसचिव भक्तराज जोशीले जानकारी दिए ।

सम्मेलनमा विश्वका सबै सरकारका नेताहरू, विश्व र क्षेत्रीय संस्था, वित्तीय र व्यापारिक संस्था, व्यवसायी, नागरिक समाज र संयुक्त राष्ट्र प्रणालीका सम्बन्धित प्रतिनिधिहरू सहभागी रहेको थियो ।

आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्री यादव तथा सचिव ई.प्रमिलादेवी शाक्य बज्राचार्यलाई मन्त्रालयका निमित्त सचिव एवं सहसचिव ई.मिना श्रेष्ठ, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई.रामकुमार श्रेष्ठ लगायतले स्वागत गरेका थिए ।