कांग्रेस एमाले नमिलेपछि मादी गाउँपालिकाको बजेट रोकियो

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कास्कीको मादी गाउँपालिकाको गाउँसभा स्थगित भएको छ । राजनीतिक दलका प्रतिनिधिहरूबिचको विवादका कारण बजेट प्रस्तुत गर्ने सभा नै स्थगित भएको हो ।

सोमबार नीति तथा कार्यक्रम पारित गरी बजेट ल्याउने तयारी भइरहेका बेला सत्ता साझेदार दलहरू नेपाली कांग्रेस र नेकपा एमालेका सदस्यहरूबिचको विवादले गाउँसभा अनिश्चितकालका लागि रोकिएको पालिकाले जनाएको छ ।

यससँगै असार १० गतेभित्र बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता पूरा गर्न गाउँपालिकालाई सकस परेको छ । गाउँपालिका अध्यक्ष देविजंग गुरुङले आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि छलफलका क्रममा विवाद सुरु भएको थियो । नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने गाउँसभा सदस्य पार्वती राना मगरले बैठक ढिला सुरु भएको र कार्यपालिका बैठक पार्टीको बैठक जस्तो गरी सञ्चालन भएको भन्दै आपत्ति जनाएकी थिइन् । उनको भनाइप्रति एमालेका सदस्यहरू माधव सापकोटा र दीपक क्षेत्रीले नियमापत्ति जनाए । पार्वतीको भनाई रेकर्डबाट हटाउन माग गरेपछि विवाद बढेको हो । विवाद समाधान नभएपछि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनेन्द्र भुजेलले एक सूचना जारी गर्दै गाउँ सभाको १७ औँ अधिवेशन अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गरेका हुन् एक सदस्यका अनुसार विवाद नीति तथा कार्यक्रम र बजेटमा भन्दा पनि व्यक्तिगत भएको र सोही विवाद सभामा प्रवेश गरेको हो । मादीमा अध्यक्ष नेपाली कांग्रेसका देविजंग गुरुङ र उपाध्यक्ष नेकपा एमालेकी कल्पना गुरुङ हुन् ।