पोखरामा लगातार भारी वर्षा र चट्याङ: जोखिम बढ्दो, सतर्क रहन अनुरोध

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

सुदिप पौडेल
पोखरा, २०८२ असार ८ गते,पोखरा लगायत गण्डकी प्रदेशमा यतिबेला भारी वर्षा र चट्याङसहितको मौसमले जनजीवन प्रभावित पारेको छ। जल तथा मौसम विज्ञान विभागले यस क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको र चट्याङको जोखिम पनि उच्च रहेको जनाएको छ।

लगातारको वर्षाका कारण नदीनालामा पानीको सतह बढ्न सक्ने भएकाले विशेषगरी नदी किनारामा बसोबास गर्ने स्थानीय बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। बाढी र पहिरोको जोखिम बढेकाले सुरक्षित स्थानमा सरिसक्न वा आवश्यक तयारी गर्न विभागले सुझाव दिएको छ।

स्थानीय प्रशासनले पनि नागरिकहरूलाई अनावश्यक यात्रा नगर्न र यात्रा गर्दा थप सावधानी अपनाउन अनुरोध गरेको छ। सडक अवरुद्ध हुने र दुर्घटनाको जोखिम बढ्न सक्ने भएकाले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गरिएको छ। यस विषम मौसमले दैनिक जनजीवन, कृषि र यातायातमा समेत प्रभाव पार्न सक्ने भएकाले सबैलाई सजग रहन अपिल गरिएको छ।

सुरक्षाका लागि, चट्याङ पर्दा घरभित्रै बस्न, बिजुलीका उपकरण प्रयोग नगर्न, र अग्ला रुख तथा बिजुलीका खम्बाहरूबाट टाढा रहन पनि सुझाव दिइएको छ।