माधवमाथिकाे मुद्दाबारे प्रचण्ड– राजनीतिक प्रतिशोधको गन्ध आएको छ

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव नेपालमाथिकाे भ्रष्टाचारको मुद्दामा राजनीतिक प्रतिशोधको गन्ध आएको बताएका छन्।

विपक्षी दलहरूको बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै प्रचण्डले प्रधानमन्त्री ओलीको प्रतिशोधको गन्ध आएको बताएका हुन्। अदालतले न्याय गर्ने भन्दै प्रचण्डले भने, ‘प्रधानमन्त्रीजीको अलिकति राजनीतिक प्रतिशोधको गन्ध त आएकै छ।’

ललितानिवास प्रकरणमा बाबुराम भट्टराई र माधव नेपालको विषय आफ्नो क्षेत्राधिकारभित्र नपर्ने भन्दै पन्छिएको अख्तियारले अहिले सोही प्रकृतिको मुद्दामा मुद्दा चलाएकाले प्रश्न उब्जिएको  प्रचण्डको भनाइ छ।

‘…ललितानिवास प्रकरणका सन्दर्भमा बाबुराम भट्टराई र माधव नेपालजीको बारेमा जे प्रश्न उठेको थियो, अख्तियारले आफ्नो क्षेत्राधिकारभित्र पर्दैन, जे लेख्नु छ क्याबिनेटले गरोस् भनेर चिठी लेखेको थियो,’ प्रचण्डले भने।

आफूहरूले ०६४ सालदेखिका सबै प्रधानमन्त्री र गृहमन्त्रीमाथि छानबिनको माग राख्दै आएको स्मरण गराउँदै प्रचण्डले यो प्रकरण नजिर बने सबैमाथि छानबिन हुने धारणा राखे।

‘यसले (पतञ्जली प्रकरण) सबै छानबिनको दायराभित्र आउने भयो। तर, यो नीतिगत र सैद्धान्तिक  रूपमा सही हो कि होइन बहस गर्न जरुरी छ,’ उनले भने।