पोखरा, – पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम निर्माण प्रक्रिया सुरु गरेको छ। ‘समुन्नत पर्यटकीय पोखरा’ निर्माणको साझा लक्ष्यलाई दृष्टिगत गर्दै, महानगरले नागरिकहरू, सरोकारवाला निकायहरू तथा विज्ञहरूबाट नीतिगत सुझावहरू माग गरेको छ।
डिजिटल पहुँचलाई सहज बनाउन महानगरपालिकाले QR कोड स्क्यान गरी अनलाइनमार्फत सुझाव दिने व्यवस्था गरेको छ। QR कोडमार्फत वा https://bit.ly/sujhabharu लिङ्कमा क्लिक गरी आफ्नो सुझाव २०८२ जेठ मसान्तसम्म पेस गर्न सकिनेछ।
महानगरले नीति तथा कार्यक्रममा पर्यटन प्रवर्द्धन, पूर्वाधार विकास, वातावरण संरक्षण, उद्यमशीलता, र डिजिटल सेवा विस्तार लगायतका विषयहरूलाई प्राथमिकतामा राख्ने संकेत दिएको छ। यसका लागि जनसहभागितामूलक र व्यवहारिक सुझावहरूलाई प्राथमिकताका साथ समेटिने बताइएको छ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले भने,
“नीति निर्माणमा जनताको सहभागिता नै समावेशी र व्यवहारिक नीति निर्माणको आधार हो। यसले नीति निर्माणलाई अझ प्रभावकारी र दूरदर्शी बनाउनेछ।”
महानगरले सबै नगरवासी, पर्यटन व्यवसायी, युवा, सामाजिक अभियन्ता, विज्ञ तथा सरोकारवालाहरूलाई आ–आफ्ना सुझाव समयमै पेस गर्न आग्रह गरेको छ।