पोखरा, — पोखरा महानगरपालिका वडा नं ८ का वडाध्यक्ष रुद्रनाथ बरालले वडावासीलाई आत्मनिर्भर र व्यावसायिक बनाउने उद्देश्यसहित विभिन्न सीपमूलक तालिम सञ्चालन भइरहेको बताएका छन्।
वडा कार्यालयद्वारा आयोजित १५ दिने मादल बजाउने तालिमको उद्घाटन समारोहमा बोल्दै वडाध्यक्ष बरालले तालिमले नागरिकलाई सीपमूलक र व्यावसायिक बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरे। “हाम्रो ध्यान वडावासीलाई आत्मनिर्भर बनाउनेतर्फ केन्द्रित छ,” उनले भने, “केही दिनअघि मात्रै अचार बनाउने र वेड डिजाइन एण्ड डेभलपमेन्ट तालिम सम्पन्न भएको थियो।”
उनले मादल तालिमले नेपाली मौलिक संस्कृतिको जगेर्नामा समेत महत्त्वपूर्ण योगदान पुर्याउने उल्लेख गरे। “संस्कृति जगेर्नाका लागि यस्ता तालिमहरू आवश्यक छन्,” उनले थपे।
उद्घाटन कार्यक्रममा नारी परोपकार केन्द्रकी अध्यक्ष शारदा गिरी, जनप्रिय टोल विकास संस्था अध्यक्ष अञ्जुकुमारी चालिसे, नागढुंगा विकास समाजका अध्यक्ष डम्बर सुवेदी, प्रशिक्षक सन्तोष पराजुली लगायतले मन्तव्य राखेका थिए।
तालिम सिमलचौरस्थित शिव पञ्चाङ्ग मन्दिर परिसरमा सञ्चालन भइरहेको छ। प्रशिक्षक पराजुलीले ४० जना सहभागीलाई तालिम दिइरहेका छन्। कार्यक्रम वडासचिव झंकनाथ पौडेलले सञ्चालन गरेका थिए।