बागमती : चिठ्ठा विधेयक प्रदेश मामिला समितिमा पठाइयो

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

बागमती प्रदेशसभाको आज मंगलबार बसेको बैठकले ‘प्रदेशस्तरको चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’लाई दफावार छलफलका लागि समितिमा पठाएको छ ।

विधेयकलाई दफावार छलफलका लागि प्रदेश मामिला समितिमा पठाउन आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले प्रस्ताव पेश गरेका थिए । सभामुख भुवन पाठकले विधेयकलाई समितिमा पठाउने प्रस्तावलाई निणायार्थ पेश गरेका थिए ।

प्रदेशस्तरको चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई प्रदेश मामिला समितिमा पठाउने प्रस्ताव सर्वसम्मतले पारित भएको सभामुख पाठकले जानकारी दिए । प्रदेश सभामा दुई वर्षदेखि थन्किएको विवादित चिठ्ठा विधेयकलाई सरकारले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको दबाबमा अगाडि बढाएको हो ।

चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई तत्कालीन प्रदेश प्रमुख यादवचन्द्र शर्माले विधेयकका कारण सम्पत्ति शुद्धिकरणमा जोखिम हुन सक्ने देखाउँदै संघीय ऐनसँग प्रतिकूल हुन आएको सन्देससहित ७ जेठ २०८० मा प्रदेशसभामा फिर्ता पठाइदिएका थिए ।

१२ वैशाख ०८० मा बसेको प्रदेशसभाले चिठ्ठा विधेयक पारित गरी प्रमाणीकरणका लागि प्रदेश प्रमुख समक्ष पठाएको थियो । ८ जेठको प्रदेशसभा बैठकमा विधेयकको सैद्धान्तिक पक्षमाथि सामान्य छलफल भएको थियो ।

चिठ्ठा विधेयक पुनः पेश भएकोमा सत्तारुढ दलका सांसदहरुले नै विरोध गरेका थिए भने प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले विधेयकको बचाउ गरेको थियो । चिठ्ठा विधेयक ल्याउँदा सरकारको नेतृत्व नेकपा माओवादी केन्द्रका शालिकराम जम्मकट्टेलले गरेका थिए भने माओवादी केन्द्रकै गंगानारायण श्रेष्ठ कानुनमन्त्री थिए ।

‘कालो धनलाई सेतो बनाउन’ मद्दत पुर्‍याउने गरी कानुनी व्यवस्था गर्न विधेयक ल्याइएको भन्दै यसको आलोचना भएको थियो । १५ असोज २०८० मा बसेको प्रदेशसभा बैठकमा चिट्ठा विधेयक ‘चोर बाटो’बाट पुनर्विचारको लागि प्रस्ताव प्रस्तुत गर्न खोजिएको थियो । त्यतिबेलाको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले विरोध गर्दै रोष्टम घेराउ गरेका थिए ।