पोखरामा वृक्षारोपणको ठूलो अभियान सुरु, ‘क्लिन सिटी, ग्रीन सिटी’ कार्यक्रम नगर प्रमुख आचार्यको अगुवाइमा

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पोखरा, विश्व वातावरण दिवसको अवसर पारेर पोखरा महानगरपालिकाले “क्लिन सिटी, ग्रीन सिटी” कार्यक्रम अन्तर्गत २ लाख २६ हजार बिरुवा रोप्ने वृहत अभियान सुरु गर्ने भएको छ। सो अभियानको औपचारिक शुभारम्भ भोलि जेठ २१ गते बिहान ७:३५ बजे पोखरा २५ स्थित साझा चोकमा नगर प्रमुख धनराज आचार्यको प्रमुख आतिथ्यमा हुने बताइएको छ।

कार्यक्रमअन्तर्गत याम्दीदेखि फेदीसम्मको १२ किलोमिटर सडक खण्डको डिभाइडरमा विभिन्न जातका १,१०० फूलका बिरुवा रोपिनेछ। महानगरले अभियानलाई सामूहिक रूपमा सफल बनाउनका लागि टोल विकास संस्था, नागरिक समाज, आमा समूह, युवा क्लब, पत्रकार, विद्यालय, वित्तीय संस्था र महानगरका कर्मचारीहरूलाई सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ।

यसअघि रोपिएका बिरुवाहरू माटोको उचित लेभल नहुँदा हुर्कन नसकेको अनुभवलाई मध्यनजर गर्दै यसपटक ६० से.मी. गहिराइ र ४५ से.मी. गोलाइको खाडल, नयाँ माटो र मलको व्यवस्था गरेर बिरुवा रोप्ने तयारी भइरहेको महानगरले जनाएको छ।

महानगरले यो अभियानलाई पोखराको हरियाली विस्तार र वातावरणीय सन्तुलन कायम गर्ने दीर्घकालीन प्रयासका रूपमा लिएको छ।