गाजामा खाना लिन गएका मानिसहरूमाथि भएको गोलीबारीको अनुसन्धान गर्न यूएनको माग

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

गाजामा राहत सामग्री वितरण गर्ने क्रममा प्यालेस्टिनीहरूको हत्याको घटनाको अनुसन्धान गर्न संयुक्त राष्ट्र संघ (यूएन)का महासचिवले आइतबार अपिल गरेका छन् । यी मानिसहरू इजरायली सेनाको गोलीबारीमा मारिएको बताइएको छ ।

‘आइतबार खाना र राहत सामग्री लिन गाजामा आएका प्यालेस्टिनीहरूको मृत्यु र घाइते भएकोमा म दुखी छुँ ।’ यूएनका महासचिव एन्टोनियो गुटेरेसले एक विज्ञप्तिमा भनेका छन् ।

इजरायल र अमेरिकाको समर्थनमा गाजा मानवीय फाउन्डेसनद्वारा सञ्चालित राहत सामग्री वितरण केन्द्रमा उनीहरूमाथि गोलीबारी गरिएको प्रत्यक्षदर्शीहरूले बताएका थिए ।घटनामा १७९ जनालाई चोट लागेको र यसमध्ये २१ जनाको मृत्यु भएको रेडक्रसले भनेको छ । उही समयमा, हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सीले मृतकको सङ्ख्या ३१ बताएको छ ।  केही हप्ताको नाकाबन्दी पछि हालै गाजा मानवीय फाउन्डेसनले खाना र अन्य राहत सामग्री वितरण गर्न थालेको थियो । यद्यपि, यसको नीतिहरू मानवता विरोधी भएको आरोप लगाइएको छ ।