पोखरा,पाँच दशकभन्दा लामो समयदेखि चलिरहेको फेवातालको सीमाना सम्बन्धी अन्योल अन्त्यतर्फ उन्मुख देखिन थालेको छ। सर्वोच्च अदालतको आदेशअनुसार सुरु भएको वैज्ञानिक सिमाङ्कन अभियानले पोखराको पर्यावरण, प्राकृतिक सम्पदा र कानुनी व्यवस्थापनको दिशामा निर्णायक मोड लिएको संकेत दिएको छ।
नगर प्रहरी निरीक्षक पुरुषोत्तम थापाका अनुसार अभियानको पहिलो दिन सातवटा र दोस्रो दिन आठवटा गरी हालसम्म १५ वटा सीमा पिल्लर गाडिएको छ। फेवातालको लगभग १६ किलोमिटर परिधिमा १ हजार ५५ वटा सीमा स्तम्भ गाड्ने लक्ष्य लिइएको छ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यका अनुसार यो सिमाङ्कन तालको हाई फ्लड लाइनलाई वैज्ञानिक आधार मानेर गरिएको हो। झन्डै १८ महिनाको तयारीपछि सुरु भएको यो कामलाई उहाँले “पाँच दशकको अन्योल अन्त्य गर्ने ऐतिहासिक कदम” भनेर टिप्पणी गर्नुभयो।
“यस अभियानले फेवातालको वास्तविक सिमाना प्रष्ट पार्नुका साथै भविष्यमा हुने संरचना व्यवस्थापन र क्षतिपूर्तिको कार्यलाई समेत कानुनी आधार प्रदान गर्नेछ,” प्रमुख आचार्यले भन्नुभयो। उहाँका अनुसार मापदण्डभित्र पर्ने जग्गा तथा संरचनाको क्षतिपूर्ति दिइनेछ भने अवैधानिक रूपमा बसेकालाई हटाइने प्रक्रिया अघि बढ्नेछ।