पोखरा, – सर्वोच्च अदालतको आदेशअनुसार सुरु गरिएको फेवा ताल सीमांकन कार्यप्रति नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पोखरा महानगर कमिटीले पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई विशेष धन्यवाद दिएको छ।
महानगर कमिटीका अध्यक्ष प्रेम थापाले भनेका छन्, “फेवा ताल हाम्रो शान हो, यसको रक्षा हाम्रो पहिचान हो। यसको संरक्षणमा मेयर आचार्यले देखाउनुभएको प्रतिबद्धता, साहस र दूरदृष्टिपूर्ण नेतृत्व प्रशंसनीय छ।”
थापाका अनुसार पोखराको पहिचान, पर्यावरणीय सन्तुलन र भावी पुस्ताको भविष्यसँग प्रत्यक्ष जोडिएको फेवा ताल संरक्षण कार्य ऐतिहासिक तथा प्रेरणादायी छ। उनले थपे, “हाम्रो पार्टी सधैं विकास, समृद्धि, दिगो भविष्य र प्रकृति संरक्षणका मुद्दामा अग्रसर रहँदै आएको छ। मेयरज्यूको यो कदमले त्यो मूल्यलाई पुष्टि गरेको छ।”
सर्वोच्च अदालतको आदेशअनुसार आजबाट तालघर क्षेत्रबाट १०५५ वटा सीमा स्तम्भ (पिलर) गाड्ने कार्य सुरु गरिएको हो। ती पिलरहरूको आधारमा तालको वास्तविक सीमा निर्धारण गरिनेछ र त्यसबाट ६५ मिटर वरिपरिको क्षेत्रलाई हरियाली क्षेत्रको रूपमा विकास गरिने जनाइएको छ। यो कार्यले वातावरण संरक्षण, पारिस्थितिक सन्तुलन र पोखराको प्राकृतिक सौन्दर्यको दीर्घकालीन संरक्षणमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
अध्यक्ष थापाले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र संघीय सरकारलाई समेत सहकार्यका लागि धन्यवाद व्यक्त गर्दै कार्यलाई छरितो, न्यायसंगत र पारदर्शी रूपमा सम्पन्न गर्न आग्रह गरेका छन्।
थापाले भनेका छन्, “फेवा तालको संरक्षण केवल कानुनी वा प्रशासनिक विषय होइन, यो हाम्रो अस्तित्व, संस्कृति र भावी पुस्ताको उत्तरदायित्वसँग जोडिएको साझा अभियान हो। सबै सरोकारवाला र जनसमुदायलाई साथमा लिएर अघि बढ्नुपर्ने अहिलेको आवश्यकता हो।”