पोखरा, – “फेवाताल नेपालमा मात्र होइन, विश्वमै प्रख्यात ताल हो। यसको संरक्षण अत्यन्त जरुरी छ। ढिलो भए पनि आज शुरू भएको सीमांकन कार्यले सकारात्मक संकेत दिएको छ,”नेपाल कम्युनिष्ट पार्टी (विप्लव सि) कास्कीका सचिव उमेश सी.के.ले फेवातालको सीमांकन कार्यको औपचारिक सुरुआतप्रति प्रतिक्रिया दिँदै भन्नुभयो।
उहाँका अनुसार जनभावना, पर्यावरणीय पक्ष र पोखराको पर्यटन महत्वलाई ध्यानमा राख्दै ताल संरक्षणमा व्यवहारिक कदम चाल्नु आवश्यक थियो। “हामी सुरु देखिनै फेवातालको संरक्षणको पक्षमा थियौँ। आज महानगरले यो कदम चालेकोमा हाम्रो पार्टीको तर्फबाट धन्यवाद व्यक्त गर्छौँ,” सचिव सी.के.ले भन्नुभयो।
शनिबार वाराही घाट, तालघर क्षेत्रमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरका मेयर धनराज आचार्य र प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले संयुक्त रूपमा पहिलो सीमा स्तम्भ गाडेर फेवाताल सीमांकन कार्यको विधिवत् शुभारम्भ गर्नुभयो।
कार्यक्रममा तीन तहका सरकारका प्रतिनिधि, विभिन्न निकायका पदाधिकारी र स्थानीय सरोकारवालाहरूको उपस्थिति रहेको थियो।फेवातालको संरक्षण र अतिक्रमण नियन्त्रणका लागि यो कदम ऐतिहासिक र निर्णायक हुने विश्वास गरिएको छ। तालको चारैतिर सीमास्तम्भ गाडी, यसको वास्तविक क्षेत्रफलको रक्षा गर्दै दीर्घकालीन संरक्षणको आधार निर्माण गरिने जनाइएको छ।