फेवातालको सीमांकन कार्य सुरु: तीन तहका सरकारको संयुक्त पहलमा पिलर गाडियो

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पोखरा, – फेवातालको संरक्षणका लागि बहुप्रतीक्षित सीमांकन कार्य आजदेखि विधिवत् रूपमा सुरु भएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखर महानगरपालिकाका मेयर धनराज आचार्य र कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले संयुक्त रूपमा फेवातालको तालघर क्षेत्रमा सीमा स्तम्भ राख्ने कार्यको शुभारम्भ गर्नुभएको छ।

शनिबार वाराही घाट, लेकसाइडमा आयोजित कार्यक्रममा तीनवटै तहका सरकारका प्रतिनिधि र सरोकारवालाहरूको उपस्थितिमा पहिलो पिलर गाडिएको हो। यो कार्यले फेवातालको अतिक्रमण रोक्न र यसको वास्तविक स्वरूप कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

फेवातालको सीमांकनका लागि प्राविधिक उपसमितिले डिजिपिएस र ड्रोन प्रविधिमार्फत विस्तृत सर्वेक्षण सम्पन्न गरेको थियो। पछिल्लो प्रतिवेदन अनुसार, तालको सीमा निर्धारणका लागि २९ वटा मुख्य आधार विन्दु र ९ हजार नियन्त्रण विन्दु निर्धारण गरिएको छ। यी विन्दुहरूमा जमिनमुनि ४० सेन्टिमिटर उचाइका पिलरहरू गाडिएका छन्।

सिँचाइ डिभिजन कास्कीका अनुसार, फेवातालको ‘हाई फ्लड लेबल’ ७९४.९५ मिटर निर्धारण गरिएको छ। यस निर्धारणका आधारमा तालको कुल क्षेत्रफल ६.३४३ वर्ग किलोमिटर (१२,४६८ रोपनी ३ पैसा ३ दाम) कायम भएको छ।

यसअघि, तालको सीमांकनका लागि १,०५५ वटा डिजिटल पोलहरू गाडिसकिएको थियो। आजदेखि भौतिक पोल गाड्ने कार्यले गति लिएको छ, जसले फेवातालको संरक्षण र अतिक्रमण नियन्त्रणमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। यो पहलले फेवातालको भविष्यमा दिगो व्यवस्थापनका लागि मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको छ।