पोखराको फेवाताल संरक्षणको प्रयास अन्ततः व्यवहारिक चरणमा पुगेको छ। आजदेखि तालको सीमामा भौतिक रूपमा पिलर गाड्ने कार्य सुरु गरिने छ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरका मेयर धनराज आचार्य र कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले संयुक्त रूपमा तीन तहका सरकारको प्रतिनिधित्व गर्दै पिलर गाडी सीमांकनको उद्घाटन आज गर्ने छन।
यस अवसरमा पोखरा लेकसाइडका व्यवसायी विकास पाहिरिले ताल संरक्षणलाई ऐतिहासिक अभियान भन्दै सबै व्यवसायीलाई एकजुट हुन आह्वान गरे। “फेवाताललाई विश्वसामु चिनाउने हाम्रो साझा जिम्मेवारी हो, यसको संरक्षणका लागि अब सबै व्यवसायी एकजुट हुनुपर्छ,” उनले भने।
उनले तालमाथि विगतमा भएको अतिक्रमण र अवैध संरचनातर्फ संकेत गर्दै ती व्यवसायीहरूलाई पनि अब संरक्षणमा साथ दिन अपिल गरे।
फेवाताल सीमांकनका लागि प्राविधिक उपसमितिले डिजिपिएस र ड्रोन प्रविधिमार्फत डिटेल सर्वेक्षण गरेको छ। पछिल्लो रिपोर्टअनुसार २९ वटा मुख्य आधार विन्दु र ९ हजार नियन्त्रण विन्दु निर्धारण गरी ४० सेमी उचाइका पिलरहरू जमिनमुनि गाडिएका छन्।
सिँचाइ डिभिजन कास्कीका अनुसार फेवातालको ‘हाई फ्लड लेबल’ ७९४.९५ मिटर निर्धारण गरिएको छ। यस आधारमा तालको क्षेत्रफल ६.३४३ वर्ग किलोमिटर (१२,४६८ रोपनी ३ पैसा ३ दाम) कायम भएको छ।
पोल गाड्ने कार्य वाराहीघाट क्षेत्रबाट सुरु हुने छ। हालसम्म १,०५५ वटा डिजिटल पोल गाडिएको छ भने आजदेखि भौतिक पोल गाड्ने काम अघि बढाइने व्यवसायि बिकास पहारिले बताए।