पोखरा । पोखराको फेवाताल सीमामा आज भौतिक रूपमा पिलर गाडिँदै छ । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखराका मेयर धनराज आचार्य र कास्कीका सिडिओ भरतमणि पाण्डेले एकसाथ तीनै सरकारको प्रतिनिधित्व गर्दै पिलर गाड्न लागेका हुन् ।
शनिबार पहिलो पोल पाण्डेले, दोस्रो पोल मेयर आचार्य र तेस्रो पोल सिडिओ पाण्डेले गाड्ने तयारी छ । तालको पछिल्लो पटक पुनः नाप जाँच गरी तालको यथार्थ अवस्था बारे विवरणहरू यकिन गरिएका छन् ।
फेवातालको सिमाङ्कन गरी प्रतिवेदन पेस गर्न गठित प्राविधिक उपसमितिले फेवातालको सिमाना यकिन गर्न डिजिपिएस प्रविधि र ड्रोन सर्वे मार्फत डिटेल सर्वेक्षण गरेको हो । पछिल्लो रिपोर्ट अनुसार २९ वटा मुख्य आधार विन्दुहरू कायम गरी ४० सेमी उचाइका २९ पिल्लरहरु जमिनमुनि गाडिएका छन् ।
यसको आधारमा ९ हजार नियन्त्रण बिन्दुहरू कायम गरिएका छन् । सिँचाइ डिभिजन कार्यालय कास्कीको विगत १० वर्षको रेकर्ड तथा विभिन्न समयमा बनेका फेवातालका नक्साहरूको अध्ययन पश्चात् फेवातालको हाई फ्लड लेबल ७९४.९५ मिटर कायम गरिएको छ ।
उक्त विन्दुलाई आधार मान्दा तालको ताल घर ६.३४३ वर्ग किमी अर्थात् १२ हजार ४६८ रोपनी ३ पैसा ३ दाम कायम हुन आउँछ । पोल गाड्ने काम वाराहीघाटदेखि सुरु हुनेछ । १ हजार ५५ वटा डिजिटल पोल गाडिसकिएको र भौतिक पोल आजदेखि गाड्न लागिएको हो ।