पोखरामा दीर्घकालीन सुरक्षा गृह स्थापना, मेयर आचार्य

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पोखरा, “विभिन्न प्रकारका हिंसाबाट पीडित महिलाहरूको जीवनमा आत्मविश्वास, सम्मान र आत्मनिर्भरता फर्काउने यो पुनर्स्थापना केन्द्र सामाजिक न्यायको दिशामा लिएको ऐतिहासिक पाइला हो,” पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उद्घाटन समारोहमा भने।

सातौँ राष्ट्रिय महिला अधिकार दिवसको अवसर पारेर पोखरा–३३ पुष्पवस्ती (भरतपोखरी) मा सञ्चालित दीर्घकालीन पुनर्स्थापना केन्द्र (सुरक्षा गृह) को उद्घाटन गर्दै मेयर आचार्य,  यस्तो धारणा राखेका हुन्।

उनले थपे, “महिलाविरुद्धको हिंसा अन्त्य गर्दै सुरक्षित, सम्मानजनक र आत्मनिर्भर जीवन सुनिश्चित गर्न महानगरपालिका सधैं प्रतिबद्ध छ। यस किसिमका केन्द्रहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास लिएको छु।”

उक्त केन्द्र गण्डकी प्रदेश सरकारअन्तर्गत सामाजिक विकास मन्त्रालय, पोखरा महानगरपालिका, सामाजिक विकास कार्यालय कास्की तथा जिल्ला प्रशासन कार्यालय कास्कीको सहकार्यमा सञ्चालनमा ल्याइएको हो।

पुनर्स्थापना केन्द्रमार्फत हिंसाबाट पीडित महिलाहरूलाई सुरक्षित आवास, मनोपरामर्श, स्वास्थ्य सेवा, कानुनी सहायता तथा सीपमूलक तालिम प्रदान गरिनेछ।

समारोहमा सहभागी सरकारी अधिकारी, स्थानीय जनप्रतिनिधिहरूले यस पहललाई महिला सशक्तीकरणतर्फको महत्वपूर्ण कदमको रूपमा व्याख्या गरे।

मेयर आचार्यले पुनः जोड दिँदै भने, “यो केन्द्रबाट धेरै महिलाहरूको जीवनमा सकारात्मक परिवर्तन आउनेछ भन्ने विश्वास लिएको छु।”