पोखरा, — नेकपा एकीकृत समाजवादी पोखरा महानगर कमिटीको प्रथम नगर अधिवेशनले प्रेम थापाको अध्यक्षतामा ९१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। उपाध्यक्षमा सुरज अधिकारी बज्रराज, सचिवमा वल बहादुर मगर तथा उपसचिवमा संगिता केसी र विकास पहारी निर्वाचित भएका छन्।
अधिवेशनको उद्घाटन कार्यक्रममा पार्टीका महासचिव घनश्याम भुषालले मुलुक ‘उकुसमुकुस’को अवस्थामा फसेको टिप्पणी गर्दै, जनतामा गहिरो निराशा फैलिएको र त्यसबाट मुलुकलाई बाहिर निकाल्न नयाँ ढंगको आन्दोलन आवश्यक रहेको धारणा राखे।
उनले गणतन्त्रप्रति जनताको भरोसा कमजोर बन्दै गएको उल्लेख गर्दै, “गणतन्त्रको नेतृत्व गर्ने नेताहरूको नैतिक कमजोरीका कारण राजतन्त्रको पक्षमा आवाज उठ्न थालेको हो,” भने।
कार्यक्रममा केन्द्रीय सचिव श्रीनाथ वराल, पोलिटब्युरो सदस्य तथा पोखरा महानगर प्रमुख धनराज आचार्य, पोलिटब्युरो सदस्य दिलकुमारी पन्त, निरा देवी जैरु र गण्डकी प्रदेशका नेताहरूले समेत पार्टीको अभियान, लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुशासन स्थापनाको विषयमा आ–आफ्नो धारणा राखेका थिए।
त्यसैगरी, गण्डकी प्रदेश कमिटीका अध्यक्ष कृष्ण नेपाली, केन्द्रीय सदस्य रत्ना गुरुङ, शर्मिला पौडेल, सल्लाहकार डिवी राई, कास्की जिल्ला कमिटी अध्यक्ष खड्ग हमाल र महानगर कमिटीका इञ्चार्ज मुक्ति पौडेल लगायतले अधिवेशनको सफलताको शुभकामना व्यक्त गरे।
कार्यक्रममा जनवादी गायक ऋषि अधिकारीले चेतनामूलक गीत प्रस्तुत गरेका थिए। स्वागत मन्तव्य उपाध्यक्ष शलिकराम वरालले दिएका थिए भने कार्यक्रमको सञ्चालन सचिव सुरज अधिकारी बज्रराजले गरेका थिए।