पोखरा, — १८औँ गणतन्त्र दिवसको अवसरमा आज बिहान पोखरामा वृहत सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। पोखरा–१७ स्थित ड्रायामसाइड पार्क क्षेत्र आसपास सञ्चालन गरिएको कार्यक्रममा सरकारी तथा गैरसरकारी निकाय, स्थानीय निकायका प्रतिनिधि र सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।
गण्डकी प्रदेशको गणतन्त्र दिवस मूल समारोह समितिको आयोजनामा र पोखरा महानगरपालिकाको व्यवस्थापनमा सम्पन्न उक्त कार्यक्रम बिहान ७:३० बजे प्रारम्भ भएको थियो। कार्यक्रममा पोखरा महानगर प्रमुख धनराज आचार्य, कास्कीका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख, वडा जनप्रतिनिधिहरू, नागरिक समाजका अगुवा तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
फेवाताल क्षेत्रलाई केन्द्रबिन्दु बनाएर गरिएको सरसफाइमा जलकुम्भी हटाउने, फोहोर संकलन गर्ने र पार्क क्षेत्रको सौन्दर्य बढाउने कार्यमा सहभागीहरूले सक्रिय भूमिका निर्वाह गरेका थिए।
मेयर आचार्यले “हाम्रो अभियान, सफा सुन्दर पोखरा” भन्ने नारासहित सञ्चालन भएको अभियानले पोखरालाई पर्यटकीय, सांस्कृतिक र वातावरणीय दृष्टिले अझ आकर्षक र स्वच्छ बनाउन योगदान पुर्याउने विश्वास व्यक्त गरे।
कार्यक्रममा विभिन्न सरकारी निकाय, गैरसरकारी संस्था, स्थानीय , र स्वयंसेवकको उत्साहजनक सहभागिता रहेको थियो।