पोखरा, – पोखरा महानगरपालिका वडा नं. ७ ले आफ्नो पदस्थापन दिवसको अवसर पारेर हेमजास्थित मानव सेवा आश्रमलाई खाद्य सामग्री सहयोग गरेको छ।
२०७९ साल जेठ १२ गते जनप्रतिनिधिहरूले पदभार ग्रहण गरेको दिनको स्मरणमा आयोजित कार्यक्रममा वडाले आश्रमलाई ४० हजार रुपैयाँ बराबरको खाद्य सामग्री सहयोग गरेको हो।
सहयोग हस्तान्तरण कार्यक्रममा वडाध्यक्ष राम मोहन आचार्य, वडा सचिवसहित वडा सदस्यहरू, स्थानीय नागरिकहरूको उपस्थिति रहेको थियो।
वडाध्यक्ष आचार्यले कार्यक्रममा बोल्दै मानव सेवा आश्रमले समाजका असहाय, अपांग तथा जेष्ठ नागरिकहरूको हेरचाहमा पुर्याउँदै आएको योगदानको उच्च प्रशंसा गर्नुभयो। उहाँले भन्नुभयो, “पदभार ग्रहण गरेको दिनको सम्झनामा यस्तो सेवामूलक कार्य गर्न पाउँदा गर्व लागेको छ। वडा नं. ७ सामाजिक उत्तरदायित्वका कामहरूमा सधैं अग्रसर रहनेछ।”
वडा सचिवले पनि संस्थाहरूको सशक्तिकरणमा स्थानीय सरकारको साथ आवश्यक रहेको उल्लेख गर्दै यस्ता सहयोगले सहकार्यलाई थप सुदृढ बनाउने धारणा राख्नुभयो।
मानव सेवा आश्रमका प्रतिनिधिहरूले सहयोगप्रति आभार प्रकट गर्दै वडाको यस्तो सहृदय कदमले आश्रमका आश्रितहरूलाई प्रत्यक्ष रूपमा राहत पुग्ने बताएका छन्।