जयकिसन बस्नेत अस्पतालमै बेहोस्, भएको के हो ?

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कलाकार जयकिसन बस्नेत अस्पताल भर्ना भएका छन् । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज अस्पताल (केएमसीमा)मा उपचार गराइरहेका छोराको बिरामी कुरुवा बसेका बस्नेत अचानक ढलेपछि उनलाई सोही अस्पतालमा भर्ना गरिएको छ ।

शनिबार साँझ अस्पतालमा ढलेपछि जयकिसनलाई भर्ना गरिएको अस्पताल स्रोत र परिवारले जनाएको छ । उनलाई अहिले सर्जरी विभागमा भर्ना गरेर उपचार भइरहेको छ ।

उनका दाजु शोभित बस्नेतले भाइ जयकिसनमा पनि पत्थरी देखिएको र अहिले अस्पतालमा राखिएको बताए । ‘उसमा पनि स्टोन देखिएको छ । अहिले स्लाइन पानी दिएर आराम गरिरहेको छ । केहीपछि अप्रेसन गर्ने कुरा छ’ शोभितले भने, ‘केही दिनमा डिस्चार्ज गर्ने तयारी छ ।’

अस्पतालको इमर्जेन्सीमा कार्यरत एक चिकित्सकका अनुसार शनिबार साँझ बस्नेत धेरै पेट दुख्यो भन्दै इमर्जेन्सीमा पुगेका थिए । उनको जाँच गर्दा पित्तथैलीमा स्टोन देखिएको थियो । साथै प्याङ्क्रियाजमा फुलेको जस्तो देखिएको थियो ।

सामान्य उपचार शनिबार  गराएर राति फर्किएका जयनकिसनलाई राति ज्वरो आउने लगायतका समस्या देखिएको थियो । उनको जण्डिस केही बढेको देखिएको र कलेजोमा समस्या देखिएको चिकित्सकले बताए ।

बस्नेत केही दिनअघि सोही अस्पतालमा शल्यक्रिया गराएको छोराको कुरुवा बसेका थिए । आज छोराको डिस्चार्ज गर्ने तयारी थियो ।