गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘ऊनको स्वीटर’ ले रिलिजको पाँचौँ दिनसम्म दर्शकको साथ पाइरहेको छ । चलचित्रले अहिलेसम्म कति व्यवसाय गर्यो ? त्यो सार्वजनिक गरिएको छैन । फिल्मले राम्रो व्यवसाय गरेको दाबी निर्माण टिमले गर्दै आएको छ ।
चलचित्रलाई दर्शकले साथ दिएपछि निर्माण टिम कलाकार विपिन कार्की, परीक्षा लिम्बु, एलेक्स पारससहित विभिन्न हल भिजिटमा रहेको छ । चलचित्रप्रति दर्शक प्रतिक्रिया बुझ्न र दर्शकलाई मायाका लागि धन्यवाद भन्न आफूहरू कलाकारसहित उपत्यकाको हल हलमा पुगिरहेको निर्देशक नवीन चौहानले बताए ।
चौहानका अनुसार हलमा कलाकार भेट्दा दर्शक निकै खुसी देखिएका छन् । उनीहरूले कलाकारसँग शेल्फी र तस्बिर खिच्दै अर्को चलचित्र कहिले आउने भनेर सोध्ने गरेको समेत चौहानको भनाइ छ ।अहिले काठमाडौँ उपत्यकाका विभिन्न हलमा कलाकारहरू दर्शकमाझ साक्षात्कार गरिरहेका छन् । दोस्रो हप्ताबाट भने देशव्यापी भ्रमण सुरु हुने भएको छ । चौहानका अनुसार दमौलीबाट सुरु हुने भ्रमण पोखरा, चितवन, बुटवल, दाङ, नेपालगन्ज, धनगढी, दमक, धरान, विराटनगर र इटहरीसम्म पुग्नेछ । निर्देशक चौहानकै लेखन रहेको चलचित्रमा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सनविक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर र सुनिल पोखरेलको अभिनय छ ।