पोखरा, २९ बैशाख २०८२।युद्धविराम घोषणा भएपछि पहिलो पटक आज भारत र पाकिस्तानका उच्चस्तरको सैन्य अधिकारीहरुबीच बिशेष वार्ता हुँदैछ। आपसी वार्ताबाट विवाद निरुपण गर्ने उद्देश्यसहित युद्धविराम गरेका दुई मुलुकबीच पूर्व निर्धारित तालिका अनुसार आज मध्याह्न १२ बजे दुई देशका उच्च अधिकारीहरु भारतका सैन्य अपरेशन महानिर्देशक र पाकिस्तानका सैन्य अपरेशन महानिर्देशक बीच बिशेष वार्ता हुने भारतीय संचार माध्यमहरुले समाचार लेखेका छन्।
भारत–पाकिस्तानबीच लामो समयदेखि जम्मू कश्मीर क्षेत्रको स्वामित्वलाई लिएर विवाद हुँदै आएको छ । यो पटक दोहोरो गोलाबारीमा उत्रिएका दुई देशलाई मानवीय क्षति हुने युद्धमा नजान विभिन्न मुलुकले आग्रह गरेका थिए ।
सार्कको अध्यक्ष राष्ट्र नेपालले विवादका विषयमा वार्ता गरेरअघि बढ्न दुई देशलाई अपिल गरेको थियो भने अमेरिकाले दुई देशबीच तत्काल युद्धविरामसहित विवादको विषय वार्तामार्फत सुल्झाउन सुझाव दिँदै युद्धविरामका लागि पहल चालेको थियो । अमेरिकाले दुई देशबीच वार्ताका माध्यमले कुरा नटुंगिए आफु मध्यस्थता गर्न तयार रहेको भारत–पाकिस्तानसमक्ष प्रस्ताव राखेको थियो ।