पोखरा–८ मा प्लम्बिङ तालिम सम्पन्न, २७ सहभागीलाई उपकरण वितरण

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पोखरा,  – पोखरा महानगरपालिका वडा नं. ८ द्वारा आयोजित आधारभूत प्लम्बिङ तालिम तथा प्रविधि हस्तान्तरण कार्यक्रमसफलतापूर्वक सम्पन्न भएको छ। वडा कार्यालय परिसर, पोखरा–८ मा आयोजित तालिम बैशाख २१ गतेदेखि २८ गतेसम्म सञ्चालन गरिएको थियो।

सात दिनसम्म चलेको तालिममा २७ जना सहभागीले व्यवहारिक र सैद्धान्तिक ज्ञान हासिल गरेका थिए। तालिमको समापन कार्यक्रम वडा अध्यक्ष रूद्र बरालको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा इन्जिनियर गणेश बराल र वडा सदस्य पवित्रा के.सी. अतिथिको रूपमा उपस्थित थिए।

कार्यक्रममा सहभागीलाई करिब ४० हजार रुपैयाँ बराबरको प्लम्बिङ उपकरण सेट वितरण गरिएको वडा अध्यक्ष बरालले जानकारी दिए।

तालिमको व्यवस्थापन तथा समन्वय जनहित ट्रेनिङ्ग एण्ड ट्रेडिङ्ग प्रा. लि., पोखराले गरेको थियो। प्रशिक्षक सरोज क्षेत्रीले सहभागीहरूलाई भविष्यमा पनि आवश्यक सहयोग गर्न तयार रहेको बताए।

सहभागीहरू विष्णु अधिकारी बरूवाल र नवराज बरालले तालिम अत्यन्तै उपयोगी भएको प्रतिक्रिया दिएका छन्। कार्यक्रममा स्वागत मन्तव्य वडा सदस्य पवित्रा के.सी.ले दिँदै तालिमले दैनिक जीवनका समस्या समाधान गर्न सहयोग पुग्ने बताएकी थिइन्।

समापन सत्रको सञ्चालन वडा सचिव क्षमकनाथ पैडेलले गरेका थिए।