केयूमा तीनदिने अन्तर्राष्ट्रिय गणित सम्मेलन, १७ देशका १३० बढी वैज्ञानिक सहभागी

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौं विश्वविद्यालय (केयू) मा तीन दिने अन्तर्राष्ट्रिय गणित सम्मेलन सम्पन्न भएको छ ।

केयूको आयोजना तथा त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय र नेपाल गणित समाजको सहकार्यमा धुलिखेलमा उक्त सम्मेलन आयोजना गरिएको हो ।

२५ -२७ वैशाखसम्म सञ्चालन भएको सम्मेलनमा १७ देशका १३० भन्दा बढी वैज्ञानिक तथा अनुसन्धानकर्ताहरू सहभागी भएका थिए । उनीहरूले आ-आफ्नो अनुसन्धानपत्रहरू प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्राडा दिलबहादुर गुरुङले सम्मेलनको उद्देश्य र कार्यक्रमबारे प्रकाश पारेका थिए ।

केयूका उपकुलपति प्रा. डा. अच्युत वाग्लेले गणितको बढ्दो महत्त्व, यसको विविध प्रयोग तथा यससँग सम्बन्धित चुनौतीबारे चर्चा गरेका थिए ।

विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा. डा. देवराज अधिकारीले अहिलेको आधुनिक प्रविधि सहितको समाजमा गणित विषय नभएर भाषाको रूपमा रहेको बताए । उनले यस्ता सम्मेलनले अनुसन्धान र अन्तर्राष्ट्रिय सहकार्यमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे ।

गणित विभाग प्रमुख प्रा. डा. रविन्द्र कायस्थले आयोजक समिति, सहभागी वैज्ञानिकहरू तथा सम्पूर्ण सहयोगीहरूलाई धन्यवाद दिँदै उद्घाटन समारोहको औपचारिक समापन गर्नुभयो। उद्घाटन कार्यक्रमको सञ्चालन सम्मेलनका सचिव डा. उमेश राजोपाध्यायले गर्नुभएको थियो ।

कार्यक्रममा म्याथम्याटिकल एसोसिएसन अफ अमेरिका तथा ब्रिघम योङ्‍ग युनिभर्सिटी यूएसएका प्राडा माइकल डोर्फे कि नोटबारे जानकारी गराएका थिए ।

कार्यक्रममा फिक्स्ड पोइन्ट थियोरी एन्ड इट्स एप्लिकेसन्स शिर्षकमा वर्कसप सञ्चालन गरिएको थियो ।

उक्त सम्मेलन ज्ञान, अनुसन्धान र अन्तर्राष्ट्रिय सहकार्यको अभिवृद्धिमा महत्त्पपूर्ण कोशेढुंगा बनेको सहभागीहरूले बताएका छन् ।