युद्धविराम गर्ने सहमति केही घन्टामै पाकिस्तानले युद्धविराम उल्लंघन गरेको आरोप भारतले लगाएको छ।
शनिबार राति करिब ११ बजे भारतीय विदेश सचिव विक्रम मिश्रीले विशेष पत्रकार सम्मेलन गरेर पाकिस्तानले फेरि आक्रमण शुरु गरेको बताए। शनिबार साँझ भारत र पाकिस्तानबीच युद्धविराम घोषणा भएको थियो।
विशेष ब्रिफिङमा मिश्रीले भने, ‘पछिल्ला केही दिनदेखि भइरहेको सैन्य कारबाही रोक्न आज साँझ सम्झौता भएको छ। पछिल्ला केही घण्टादेखि पाकिस्तानले यो सम्झौताको घोर उल्लंघन गरिरहेको छ।’
‘भारतीय सेनाले जवाफ दिइरहेको छ र सीमा अतिक्रमणको सामना गरिरहेको छ। यो अतिक्रमण अत्यन्तै निन्दनीय छ र यसका लागि पाकिस्तान जिम्मेवार छ।’
करिब साढे दुई मिनेटको पत्रकार सम्मेलनमा विक्रम मिश्रीले भने, ‘हामी विश्वास गर्छौं- पाकिस्तानले यो अवस्थालाई राम्ररी बुझ्नुपर्छ र यो अतिक्रमण रोक्न तुरुन्तै उचित कारबाही गर्नुपर्छ।’
उनले सेनाले परिस्थितिमाथि नजिकबाट निगरानी गरिरहेको र सेनालाई कुनै पनि अतिक्रमणविरुद्ध ठोस र कडा कारबाही गर्न आदेश दिइएको बताए।