वडाअध्यक्ष पराजुलीले कर्मचारी र व्यवसायीलाई हातपात गरे

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

 

पोखरा, पोखरा महानगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष देवकृष्ण पराजुलीले मंगलबार महानगरको कार्यालयमा कर्मचारीमाथि हातपात गरेका छन। प्रशासकीय अधिकृत इश्वरी प्रसाद पोखरेलमाथि प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईँको कार्यकक्षमै तालिमको विषयमा सामान्य सोधपुछ भइरहेका बेला उनी आक्रोशित भई अचानक पोखरेलको कठालो समात्दै लछारपछार गर्न थालेका थिए।

टेलिफोन सम्पर्कमा प्रशासकीय अधिकृत पोखरेलले भने, “एक्कासि हातपात भयो। म त केहि नबोली बसेको थिएँ। हाकिमसाबले छुट्याउनु भयो।” उनका अनुसार विवादका बेला उनी कुनै प्रतिक्रिया नदिई शान्त रूपमा बसेका थिए।

प्रमुख प्रशासकीय अधिकृत चौलागाईँले तत्काल अवस्था नियन्त्रणमा ल्याई सम्झाएर वडाध्यक्षलाई पठाएको जानकारी दिएका छन्। यद्यपि सोही दिन दिउँसो वडाध्यक्ष पराजुलीले वडा नम्बर ४ को पराजुली मार्गस्थित एक व्यवसायीमाथि समेत हातपात गरेका छन्।

लेखनाथ सुवेदी नाम गरेका कस्मेटिक पसल सञ्चालकमाथि नगरप्रहरीसहित पुगेका वडाध्यक्षले सार्वजनिक स्थानमै आक्रमण गरेका थिए। सुवेदीले आफू ग्राहकका लागि सामान पेटीमा राखिरहेको बेला नगरप्रहरी आएर सामान उठाएर लगेपछि आपत्ति जनाएका थिए। सोही क्रममा वडाध्यक्षले उनीमाथि कुटपिट गरेको व्यवसायीको आरोप छ।

“ग्राहकको सामान निकालेको मात्र थियो, त्यो फिर्ता दिन आग्रह गर्दा वडाध्यक्षले सार्वजनिक स्थलमै आक्रमण गर्नुभयो,” सुवेदीले भने। उनले वडाध्यक्ष मदिरा सेवन गरेर आएको दाबी पनि गरेका छन्।

घटनापछि आक्रोशित व्यवसायीहरुले वडा कार्यालय परिसरमा केहीबेर नाराबाजी गरेका थिए।जनप्रतिनिधिद्वारा दिउँसै सार्वजनिक स्थानमा भएको हातपातले व्यवसायी र सर्वसाधारणबीच सुरक्षा र उत्तरदायित्वको प्रश्न खडा गरेको छ।