वडा नं ८ मा आयोजना गरिएको तीनदिने अचार बनाउने तालिम सम्पन्न भएको छ। स्थानीय स्तरमा सीप विकास तथा आत्मनिर्भरता अभिवृद्धिको लक्ष्यसहित सञ्चालन गरिएको तालिमको संयोजन वडा अध्यक्ष रूद्रनाथ बरालले गर्नुभएको हो। कार्यक्रमका प्रमुख अतिथि वडा नं ७ कै अध्यक्ष राम मोहन आचार्य रहनुभएको थियो भने अतिथिका रूपमा वडा सदस्यहरू पार्वति के.सी, लक्ष्मी बी.के, गोविन्द बराल, हिराकाजी श्रेष्ठ र वडा सचिव झम्कनाथ पौडेलको उपस्थिति रहेको थियो।
तालिममा प्रशिक्षकको रूपमा सोनल वोगटीले सहभागीहरूलाई अचार बनाउने सीप प्रदान गर्नुभएको थियो। कुल ३५ जना सहभागी रहेको तालिममा वडा वासिको उल्लेखनीय सक्रियता देखिएको थियो। स्वागत मन्तव्य पवित्र के.सीले राख्नुभएको थियो।
तालिमका प्रमुख अतिथि राम मोहन आचार्यले कार्यक्रममा मन्तव्य दिँदै वर्तमान प्रविधि युगमा समयलाई केवल मोबाइल तथा सामाजिक सञ्जालमा खर्चिनु भन्दा उत्पादक कार्यमा लगाउनु आवश्यक रहेको धारणा राख्नुभयो। उहाँले युवाहरू र गृहिणीहरूलाई घरमै बसेर केही उपयोगी सीप सिक्न र आत्मनिर्भर बन्न प्रेरित गर्नुभयो।
कार्यक्रमको समापन गर्दै वडा अध्यक्ष रूद्रनाथ बरालले वडावासीको हरेक समस्या र आवश्यकताप्रति आफू सदैव संवेदनशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले आपत्कालीन अवस्थामा आर्थिक, भौतिक तथा नैतिक रूपमा साथ दिन आफू तयार रहेको स्पष्ट पार्नुभयो।
सहभागी विना देवकोटा ढकालले वडा अध्यक्ष बरालले विगतदेखि नै वडा वासिको समस्या समयमै सम्बोधन गर्दै आएको र उहाँ दोस्रो कार्यकालका लागि निर्वाचित जनप्रतिनिधि भएको उल्लेख गर्दै आभार व्यक्त गर्नुभयो।
यस तालिममार्फत स्थानीय स्तरमा स्वरोजगार र लघु उद्यमतर्फको सम्भावनालाई मजबुत बनाउने अपेक्षा गरिएको छ।