क्षत्री महिला समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न, ४६ युनिट रगत संकलन

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पोखरा, वैशाख २० गते । क्षत्री महिला समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा ४६ युनिट रगत संकलन भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि तथा समाजसेवी थापाले समाजका महिला दिदीबहिनीहरूले रक्तदान जस्तो पवित्र कार्यको आयोजना गरेकोमा कृतज्ञता व्यक्त गरे। उनले भने, “यो धेरै ठूलो तीर्थ हो। यस्तो मानवीय संवेदना र स्वास्थ्यसँग जोडिएका विषयहरूमा काम गर्नु महत्त्वपूर्ण छ। यस्ता कर्म गरेपछि तीर्थ गर्न अन्यत्र जानु पर्दैन।”
नेपाल रेडक्रस सोसाइटी कास्कीकी नवनिर्वाचित सभापति उर्मिला खड्काले महिलाहरूको सक्रियतामा जीवन बचाउने अभियानमा सहभागिता र रक्तदान कार्यक्रमको आयोजना अत्यन्त सराहनीय रहेको बताइन्। उनले थपिन्, “संयोगले ६० वर्षको इतिहासमा कास्की रेडक्रसले महिला नेतृत्व पाएको छ र म आफैँले आयोजना नगरे पनि महिलाले आयोजना गरेको कार्यक्रममा सरिक हुन पाउँदा गौरवान्वित छु।”
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले समाजलाई स्वस्थ राख्न र स्वयं स्वस्थ रहन पनि रक्तदान अपरिहार्य रहेको औंल्याए। उनले सबैलाई नियमित रक्तदान गर्न प्रेरित गर्दै भने, “म पनि हरेक तीन-तीन महिनामा रक्तदान गरिरहन्छु, तपाईंहरू पनि गर्नुस्। यसले आफू पनि स्वस्थ भइन्छ र अरूको जीवन पनि बचाउन सकिन्छ।”
सितलदेवी माविका कक्षा ७ का विद्यार्थी सार्थक अधिकारीले रगतको महत्त्वबारे आफ्नो जिज्ञासा राख्दै प्रत्येक व्यक्तिले तीन-तीन महिनामा रक्तदान गरेर रगत अभावमा छटपटाइरहेकाहरूको जीवन रक्षाका लागि अग्रसर हुनुपर्ने विचार व्यक्त गरे।
क्षत्री महिला समाजकी सचिव माया भण्डारीले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष अर्चना बस्नेतले आगामी दिनहरूमा पनि विभिन्न सामाजिक कार्यहरूसँगै रक्तदान कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिइन्। कार्यक्रम क्षत्री महिला समाजकी अध्यक्ष गंगा देउजा के.सी.को अध्यक्षतामा सम्पन्न भएको थियो।