एनआरएनए महाधिवेशन रोक्न अदालतले दिएन अन्तरिम आदेश, रिटमाथि भोलि पनि सुनुवाइ

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न महाधिवेशन रोक्न माग गर्दै दायर भएको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

सर्वोच्च अदालतले एनआरएनएको एकता महाधिवेशन सार्न माग गर्दै दायर रिटमा परराष्ट्र मन्त्रालय सिंहदरबार लगायत विपक्षीहरूलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश नित्यानन्द पाण्डेको एकल इजलासले आइतबार उक्त आदेश जारी गरेको हो ।

संघका हालका अध्यक्ष बद्री केसीले शेष घले नेतृत्वको उच्चस्तरीय विवाद समाधान समितिले महाधिवेशन गराउन नसक्ने भन्दै अन्तरिम आदेश मागेर रिट दर्ता गराएका थिए ।

त्यस्तै परराष्ट्र मन्त्रालयले महाधिवेशनको मिति सार्नका लागि दिएको निवेदनसँगै राखेर यस निवेदनमा पनि सुनुवाइ हुने व्यवस्था गर्न न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले भनको छ ।

परराष्ट्र मन्त्रालयको निवेदनमा छलफल गर्न सर्वोच्चले भोलि सोमबार (वैशाख १५ गते) बोलाएको छ ।

निवेदक डा. केसीले अन्तरिम आदेशको माग समेत गरेको सन्दर्भमा अदालतले यस विषयमा निर्णयका लागि सोमबारको तारेख तोकेको छ । केसीको निवेदन र यससँग सम्बन्धित राजेशशम्शेर राणाले दायर गरेको मुद्दा एकैसाथ सुनुवाइ गरी टुंगो लगाउने अदालतले जनाएको छ ।

एनआरएनएको विवादका सम्बन्धमा सर्वोच्चको परमादेशअनुसार गठन भएको उच्चस्तरीय समितिले २० देखि २२ वैशाखसम्म एकताको महाधिवेशन आयोजना गर्दैछ ।

महाधिवेशनको काम अगाडि बढिरहेका बेला केसीले मिति सार्न माग गर्दै रिट दायर गरेका हुन् । यसअघि केसी पक्षको आग्रहका आधारमा महान्यायाधिवक्ताको कार्यालयले चुनाव सार्न सर्वोच्चमा निवेदन पेस गरेको थियो ।

सो निवेदनलगत्तै राजेशशम्शेर राणाले मिति सार्न नहुने जिकिरसहित दायर गरेको रिटमा अदालतले फाइल झिकाउने आदेश गरेको थियो । सोही मुद्दासँगै राखेर सोमबार सुनुवाइ गर्ने गरी पेसी तोकिएको हो ।