जम्मु कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबिच सम्बन्ध चिसिएको छ । भारत सरकार पाकिस्तानविरुद्ध एक्सनको मोडमा छ ।
सार्क भिसामा भारत आउने पाकिस्तानी नागरिकहरूका लागि बहिर्गमन समयसीमा अप्रिल २६ मा समाप्त भएको थियो भने मेडिकल भिसामा आउनेहरूबाहेक सबैको लागि आज अर्थात् अप्रिल २७ मा समाप्त हुँदैछ ।पाकिस्तानी नागरिकहरूलाई जारी गरिएको मेडिकल भिसा अप्रिल २९ सम्म मान्य हुने जनाइएको थियो । ‘मेरी आमा भारतीय हुनुहुन्छ र उहाँलाई हामीसँग पाकिस्तान जान अनुमति छैन,’ किशोरी सरिताले रुँदै भनिन् । उनलाई थाहा छैन उनी फेरि कहिले भेट्न सक्छिन् । उनी, उनका भाइ र बुबा आइतबार भारतबाट बाहिरिन अटारी सीमामा लाइनमा उभिएका सयौं मानिसहरूमध्ये हुन् । अमृतसर जिल्लाको अटारी सीमामा पाकिस्तानी नागरिकहरू आफ्नो देश प्रवेश गर्न हतारिएपछि सवारी साधनहरूको लामो लाइन लागेको थियो । धेरै भारतीय आफ्ना पाकिस्तानी आफन्तहरूलाई बिदाइ गर्न अटारी पुगेका थिए । जहाँ बिछोडको पीडा स्पष्ट रूपमा देखिएको थियो । सरिताको परिवार अप्रिल २९ मा हुने आफन्तको विवाहका लागि भारत आएको थियो ।सरिताले भनिन्, ‘हामी नौ वर्षपछि भारत आएका हौँ ।’ उनी, उनका भाइ र बुबा पाकिस्तानी हुन् भने उनकी आमा भारतीय हुन् । उनीहरूले (अटारीका अधिकारीहरू) मेरी आमालाई हामीसँग जान नदिने बताइरहेका छन् । ‘मेरा आमाबाबुले १९९१ मा विवाह गर्नुभयो। उहाँहरू भारतीय राहदानीवाहकहरूलाई अनुमति नदिने भनिरहेका छन्,’ उनले आँसु झार्दै भनिन् ।
धेरैजसो पाकिस्तानी नागरिकहरूले मिडियासँग आफूहरू आफ्ना आफन्तहरूलाई भेट्न भारत आएको बताएका छन् । केही मानिसहरू विवाहमा सरिक हुन् आएका थिए । तर अब उनीहरू त्यहाँ नगई घर फर्कनुपरेको छ । जैसलमेरका एक व्यक्तिले भने, ‘मामा, काकी र छोराछोरी ३६ वर्षपछि भेट्न आएका थिए, तर उनीहरू अगाडि नै फर्किनुपर्यो ।’ उनले आफू अप्रिल १५ मा पाकिस्तानको अम्राकोटबाट ४५ दिनको भिसामा भारत आएको बताए । तर उनले कोही पनि आफन्तलाई भेट्न पाएनन् ।
भारतले समयसीमाभित्र देश नछोड्नेहरूलाई नयाँ लागु गरिएको आप्रवासन र विदेशी ऐन, २०२५ अन्तर्गत कानुनी कारबाही गरिने चेतावनी दिएको छ ।