पोखरामा नेकपा (एमाले) द्वारा २६औं मनमोहन अधिकारी स्मृति दिवस सम्पन्न

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

नेकपा (एमाले) पोखरा महानगरपालिका कमिटीको आयोजनामा आज पार्टी कार्यालयमा २६औं मनमोहन अधिकारी स्मृति दिवस कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि नेकपा (एमाले) का गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य कमरेड धन बहादुर नेपाली रहनुभएको थियो भने विशेष अतिथि जिल्ला कमिटी कास्कीका उपाध्यक्ष कमरेड भेषराज बराल हुनुहुन्थ्यो।

कार्यक्रममा प्रमुख अतिथि र विशेष अतिथि लगायत सहभागी नेताहरूले वर्तमान मुलुकको राजनीतिक परिस्थितिमा कमरेड मनमोहन अधिकारीको आदर्श, निष्ठा र जनशैलीलाई आत्मसात् गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभएको थियो। उहाँहरूले मनमोहन अधिकारीको सरल जीवनशैली, जनताको पक्षमा गरिएको काम र जनमुखी व्यवहार आजको परिस्थितिमा अझै बढी सान्दर्भिक रहेको बताउँदै, आजका कम्युनिस्ट नेता तथा कार्यकर्ताहरूले उहाँबाट शिक्षा लिनु आवश्यक रहेको धारणा राख्नुभयो।

प्रमुख अतिथि कमरेड धन बहादुर नेपालीले मन्तव्य राख्दै देश संकटमा पर्दा जनताको पक्षमा अडिने, पार्टीको सिद्धान्त र नीति प्रति दृढ रहनुपर्ने र साँचो कम्युनिस्ट चरित्रलाई मनमोहन अधिकारीले जस्तै व्यवहारमा उतार्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले अहिलेको समयमा जनतासँग जोडिएर काम गर्ने शैली नै कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउने मार्ग रहेको बताउनुभयो।

विशेष अतिथि कमरेड भेषराज बरालले पनि आफ्नो धारणा राख्दै मनमोहन अधिकारीको राजनीतिक यात्राबाट प्रेरणा लिनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, “मनमोहन अधिकारीले देखाएको निष्ठा, ईमानदारी र जनतासँगको प्रत्यक्ष सम्बन्ध नै आजका नेताहरूले अनुकरण गर्नु पर्ने मूल बाटो हो।”

उक्त कार्यक्रम नेकपा (एमाले) पोखरा महानगर कमिटीका अध्यक्ष जीवन आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन महानगर कमिटीका सचिव सुशील बस्नेतले गर्नुभएको थियो। कार्यक्रममा पार्टीका विभिन्न तहका नेताहरू, कार्यकर्ताहरू तथा समर्थकहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा मनमोहन अधिकारीको जीवनी र योगदानलाई स्मरण गर्दै उहाँप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो। सहभागीहरूले उहाँका आदर्शहरू आजको समयमा अझै सान्दर्भिक रहेको र उहाँबाट सिकेर पार्टी र मुलुकलाई बलियो बनाउन सकिने धारणा राखेका थिए।