गरिब तथा विपन्न विद्यार्थीलाई मदन भण्डारी फाउन्डेसन कास्कीद्वारा शैक्षिक सामग्री वितरण

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

मदन भण्डारी फाउन्डेसन कास्कीले गरिब तथा विपन्न वर्गका विद्यार्थीहरूलाई लक्षित गरी विद्यालय ड्रेस, कपी, कलम, झोला लगायतका शैक्षिक सामग्री वितरण गरेको छ।

फाउन्डेसनका अध्यक्ष माधव वास्तोलाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा हाललाई १५ जना विद्यार्थीहरूलाई सामग्री वितरण गरिएको छ भने बाँकी ७० जनालाई केही दिनभित्रै वितरण गरिने जानकारी अभियान संयोजक रमेश भण्डारीले दिएका छन्।

कार्यक्रममा विद्यार्थीका अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। अभिभावकहरूले झोला, कपडा र कपी नभएको कारण विद्यालय जान नमान्ने बालबालिकामा यस सहयोगले उत्साह थपिएको भन्दै आयोजकप्रति आभार व्यक्त गरेका थिए।

सहयोग वितरण कार्यक्रममा युवा नेता सुर्य भण्डारी, शेखर गौतम र रेडक्रस कास्कीका सदस्य खगेन्द्र पराजुलीको पनि उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन रमेश भण्डारीले गरेका थिए भने प्रमुख अतिथिको मन्तव्य दिँदै अध्यक्ष माधव वास्तोलाले गरिब तथा विपन्न वर्गका बालबालिकाको हितका लागि सधैँ सक्दो सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका थिए।