पोखरा, १२ बैशाख २०८२।
सामाजिक संजालमा यतिबेला ट्राफिक प्रहरीले एक जना सर्वसाधारण चालकलाई मरणासन्न हुने गरी बुटैबुटले हानेको भिडियो भाइरल बनिरहेको छ।
२०८१ मंसिर २३ गते काठमाण्डौको सुन्धारा आकाशे पुलमुनि भएको ठानिएको उक्त भिडियो यति बेला सामाजिक संजालाहरुमा भाइरल बनिरहेको हो।
उक्त भिडियो भाइरल भएपछि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले एक प्रेस बिज्ञप्ति जारी गरेर सडकमा चालकमाथि बुटैबुटले हान्ने ट्राफिक प्रहरीहरूको जिम्मेवारी खोसेर अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
उक्त बिज्ञप्तिमा ‘प्रारम्भिक अनुसन्धानअनुसार उक्त घटना मिति २०८१ मंसिर २३ गते सुन्धारा आकाशे पुलमुनि भएको र उक्त कार्यमा संलग्न देखिएका चार जना ट्राफिक प्रहरीहरूलाई ट्राफिक प्रहरी वृत्त, जनसेवाको जिम्मेवारीबाट हटाई यस काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा झिकाई आवश्यक छानविन तथा अनुसन्धान भइरहेको व्यहोरा जानकारी गराइन्छ,’ भनिएको छ।
ट्राफिक प्रहरीले जिम्मेवारी खोसिएका ट्राफिक प्रहरीहरुको विवरण भने सार्वजनिक गरेको छैन।