पोखरा महानगरपालिकाले सूचना प्रविधि (आईटी) क्षेत्रमा अध्ययन र रोजगारी गर्न चाहने युवाहरूलाई लक्षित गर्दै प्रति प्रशिक्षार्थी अधिकतम ५ लाख रुपैयाँसम्मको ऋण सुविधा दिने कार्यक्रम सार्वजनिक गरेको छ। पोखरा महानगरका मेयर धनराज आचार्यको अगुवाइमा सुरु गरिएको यो योजना आर्थिक अभावले शिक्षाबाट वञ्चित हुन नदिन र युवाहरूलाई आत्मनिर्भर बनाउन लक्षित गरिएको छ।
यस कार्यक्रमअन्तर्गत, पोखरा महानगरको व्यवसाय प्रवर्द्धन केन्द्र, निक्षेप तथा कर्जा सुरक्षण कोष, र गण्डकी विश्वविद्यालयबीचको सहकार्यमा रोजगारमुखी सीप विकास तालिम सञ्चालन गरिनेछ। योजना अन्तर्गत चालु आर्थिक वर्ष २०८१/८२ भित्र २० जनासम्म युवाहरूलाई छनोट गरिनेछ।
आवेदकले १८ वर्ष पूरा गरेको, ३५ वर्ष ननाघेको र कम्तीमा १२ क्रेडिट आवर बराबरको आईटीसम्बन्धी कोर्ष अध्ययन गरिसकेको हुनु पर्नेछ। छनोट प्रक्रिया लिखित परीक्षा र अन्तर्वार्तामार्फत गरिनेछ।
कर्जा सुविधा पाएका युवाहरूले कोर्ष सकिएपछि प्राप्त रोजगारीबाट ऋण किस्ताबन्दीमा तिर्ने व्यवस्था गरिएको छ। पोखरा महानगर र सम्बन्धित केन्द्रहरूले रोजगार सुनिश्चित गर्न सहजीकरणसमेत गर्ने बताएका छन्।
मेयर आचार्यका अनुसार यो कार्यक्रम युवाहरूमा प्रविधिमैत्री शिक्षा प्रवर्द्धन गर्नुका साथै शहरको समग्र आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यले ल्याइएको बताए। यो पहलले आईटी क्षेत्रमा पोखरा महानगरलाई एक सम्भावनायुक्त हबको रूपमा स्थापित गर्ने अपेक्षा गरेका छन।