विगतका आधारमा व्यक्तिको सम्पूर्ण भविष्यको फैसला गर्न मिल्दैन : रास्वपा सचेतक धिताल

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धितालले व्यक्तिको विगतका घटनाका आधारमा उसको सम्पूर्ण भविष्यको फैसला गर्न नहुने बताएकी छन्।

उनले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै धितालले सार्वजनिक पदमा नियुक्त हुने व्यक्तिको विगत परीक्षण हुनुपर्ने भए पनि त्यसक्रममा उसले पछिल्लो समय गरेको परिवर्तन, व्यवहार, जिम्मेवारी र योगदानलाई समेत मूल्याङ्कन गर्नुपर्ने बताएकी हुन् ।

संसदीय सुनुवाइ समितिमा दुई जना राजदूतको नाम अस्वीकृत भएको प्रसङ्ग उल्लेख गर्दै उनले यसले समितिको शक्ति, अधिकार र भूमिकाको नजिर स्थापित गरेको बताएकी छन् ।

सार्वजनिक पदमा नियुक्त हुने व्यक्तिको योग्यता, आचरण र विश्वसनीयतामाथि प्रश्न उठाउने तथा निष्पक्ष परीक्षण गर्ने समितिको अधिकार प्रभावकारी रूपमा प्रयोग हुनुपर्ने उनको भनाइ छ ।

धितालले संसदीय समितिका बैठकमा सञ्चारमाध्यमलाई प्रवेश दिने वा नदिने भन्ने बहसका क्रममा आफू सञ्चारमाध्यमको प्रवेश रोक्ने पक्षमा नरहेको पनि स्पष्ट पारेकी छन् । प्रतिबन्ध लगाउँदैमा कोही जिम्मेवार नहुने भन्दै उनले पारदर्शिताबाट डराउनुको सट्टा पारदर्शिताभित्रै जिम्मेवार बन्ने संस्कार विकास गर्नुपर्नेमा जोड दिएकी छन् ।

उनले सार्वजनिक जिम्मेवारीमा पुग्ने व्यक्तिको विगतबारे प्रश्न उठाउनु, प्रमाण खोज्नु र जबाफदेहिता सुनिश्चित गर्नु आवश्यक भए पनि वर्षौँअघिका घटनालाई आधार बनाएर व्यक्तिको सम्पूर्ण चरित्रको फैसला सुनाउनु न्यायोचित नहुने बताएकी छन्।

‘आरोप लाग्नु र दोष प्रमाणित हुनु पनि एउटै कुरा होइन,’ धितालले लेखेकी छन्, ‘यदि विगतको एउटा घटनाले नै व्यक्तिको सम्पूर्ण भविष्य निर्धारण गर्छ भने सुधारको अर्थ के रहन्छ ? पश्चात्तापको मूल्य के रहन्छ ?’

व्यक्तिले आफ्नो गल्तीबाट सिकेर परिवर्तन हुन खोज्दा समाजमा त्यसका लागि ठाउँ हुनुपर्ने उनको तर्क छ । व्यक्तिको जीवनका केही घटनालाई मात्र आधार बनाएर उसको सम्पूर्ण जीवनको मूल्याङ्कन गर्न नहुने उनले उल्लेख गरेकी छन्।

धितालले आफूले कुनै व्यक्ति विशेषको पक्षपोषण गर्न नखोजेको स्पष्ट पार्दै न्यायको मापदण्ड र प्रक्रियाबारे प्रश्न उठाएको बताएकी छन्। आफ्ना मानिस समस्यामा पर्दा एउटा र अरू मानिस समस्यामा पर्दा अर्को मापदण्ड अपनाउने प्रवृत्ति न्यायसङ्गत नहुने उनको भनाइ छ।

सार्वजनिक चासोका नाममा व्यक्तिको गोपनीयता भङ्ग गर्ने र निजी जीवनलाई सनसनीको विषय बनाउने प्रवृत्तिप्रति सचेत हुनुपर्नेमा पनि धितालले जोड दिएकी छन्।