गत भदौ २६ गते बिहान चितवनको भरतपुरमा गुडिरहेको विद्युतीय (ईभी) कारमा अचानक आगलागी हुँदा एक जनाको मृत्यु भएको घटनामा सम्बन्धित गाडी कम्पनीले मृतकको परिवारलाई १० लाख रुपैयाँ दिएको छ ।
जीएसी आयोन ईभी आगलागी भरतपुर महानगरपालिका–९ स्थित वसन्तचोक नजिकै पूर्व–पश्चिम राजमार्गको सर्भिस लेनमा भएको थियो । उक्त आगलागीबाट भरतपुर–१२ का ५६ वर्षीय अमर पराजुलीको ज्यान गएको थियो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी रामेश्वर पौडेलका अनुसार कम्पनीले पीडित परिवारलाई १० लाख रुपैयाँ किरिया खर्च दिएको छ । यस्तै मृतकको सवारीसाधनको बाँकी बैंक ऋणको किस्ताबापत ५ लाख ४४ हजार रुपैयाँ पनि मिनाहा गरिदिएको छ । जीएसी आयोन नेपालमा सीजी मोटर्सले आयात गर्दै आएको छ । पौडेलले भने, ‘बिमासम्बन्धी बाँकी प्रक्रिया पनि अघि बढिरहेको छ भने कम्पनीविरुद्ध भवितव्यसम्बन्धी जाहेरीसमेत दर्ता भएको छ ।’
एसपी पौडेलका अनुसार घटनाको अनुसन्धान गर्न चीनबाटै इन्जिनियरहरू झिकाउन लागिएको छ । यसका लागि प्राविधिक इन्जिनियरहरूको भिसा प्रक्रिया अगाडि बढिरहेको छ ।
के थियो ‘जीएसी आयोन’ आगलागी घटना ?
२६ गते बिहान भरतपुरमा करिब ६ बजेको समयमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बाप्र–०१–०३० च ५५७९ नम्बरको उक्त ईभी कार गुडिरहेकै अवस्थामा आगोको लप्कामा परिणत भएको थियो । चीनको प्रख्यात ग्वाङझाउ अटोमोबाइल ग्रुपद्वारा उत्पादित र नेपालमा सीजी मोटर्सद्वारा आयातित ‘जीएसी आयोन’ ब्रान्डको उक्त कारभित्र रहेका चालक पराजुली बाहिर निस्कन नपाउँदै कालको मुखमा परेका थिए ।
स्थानीयहरूले आगो दन्किरहेको अवस्थामा कार रोक्न आग्रह गरे पनि नियन्त्रणबाहिर गएको सो गाडी सडकको डिभाइडरमा आएर ठोक्किएको थियो । पछि सुरक्षाकर्मी र दमकलको प्रयासमा आगो नियन्त्रणमा लिइए पनि चालक पराजुलीलाई बचाउन सकिएको थिएन ।
यसअघि चीनमा पनि ‘जीएसी आयोन’का केही कारहरूमा गुडिरहेकै अवस्थामा आगलागी भएका घटना बाहिर आएका थिए । जसमा ब्याट्री सेल फुल्ने, लिकेज हुने र पावर सिस्टममा गडबडी देखिनेजस्ता समस्या औँल्याइएको थियो ।
लामो समयदेखि चर्चित ईभी कम्पनीहरूमा ‘टेक्निकल हेड’को रूपमा काम गरेका एक विज्ञका अनुसार आधुनिक चिनियाँ ईभीहरूमा रहेका जटिल स्वचालित फिचरहरूले बेलाबेलामा अनपेक्षित समस्या निम्त्याउने गरेका छन् । उनले रातोपाटीसँग भने, ‘भरतपुरको घटनामा पनि समयमै ढोका (डोर) ओपन भएको भए सायद चालकको ज्यान बचाउन सकिन्थ्यो होला भन्ने प्राविधिक अनुमान गरिएको छ । तर यसको आधिकारिक र वैज्ञानिक पुष्टि हुन भने बाँकी नै छ ।’
‘जीएसी आयोन’ गाडीमा हुन सक्ने प्राविधिक गडबडीबारे अनुमान गर्दै उनी थप्छन्, ‘घटना हेर्दा यो गाडीका विभिन्न फिचरहरूबारे प्रश्न उठेको छ । यसअघि चीनमा पनि यो गाडीमा आगलागीका घटना बाहिर आएका थिए । यसबारे उपभोक्ता र सरकारले पनि सचेत रूपमा हेर्ने बेला भइसकेको छ ।’