राजनीतिक विश्लेषक भरत दाहाल किन पक्राउ परे ?

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन्। उनलाई मोरङको बेलबारीबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी कवित कटुवालका अनुसार साइबर ब्युरोको अनुरोधमा दाहाललाई पक्राउ गरिएको हो। एक कार्यक्रमका सिलसिलामा मोरङ पुगेका दाहाललाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि काठमाडौंस्थित साइबर ब्युरोलाई बुझाउने तयारी गरिएको उनले बताए।

एसपी कटुवालले साइबर ब्युरोबाट प्राप्त पक्राउ अनुमतिका आधारमा दाहाललाई नियन्त्रणमा लिइएको जानकारी दिए।

साइबर ब्युरोका प्रवक्ता दिलीपकुमार गिरीका अनुसार दाहालले आफ्नै युट्युब च्यानलमार्फत विभिन्न विषयमा तथ्यहीन तथा भ्रामक अभिव्यक्ति प्रसारण तथा प्रकाशन गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो।

‘उहाँले आफ्नै युट्युब च्यानलमार्फत विभिन्न भ्रामक तथा तथ्यहीन कुरा प्रसारण र प्रकाशन गरेको कारण पक्राउ गरिएको हो,’ प्रवक्ता गिरीले भने।

उनका अनुसार दाहालले पदाधिकारीलगायत समसामयिक राजनीति, भूगोल तथा भूराजनीतिसम्बन्धी विषयमा अभिव्यक्ति दिएका थिए। सोही विषयमा परेको उजुरीका आधारमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिइएको ब्युरोले जनाएको छ।

दाहाललाई मोरङबाट काठमाडौं ल्याएपछि थप अनुसन्धान अघि बढाइने प्रवक्ता गिरीले बताए। उनका अनुसार दाहाललाई काठमाडौं ल्याउने प्रक्रिया अघि बढिसकेको छ।

दाहालविरुद्ध परेको उजुरी कसले दिएको भन्ने विषयमा भने ब्युरोले स्पष्ट जानकारी दिएको छैन। प्रवक्ता गिरीले उजुरी जोसुकैले दिन सक्ने र अदालतबाट पक्राउ अनुमति प्राप्त भइसकेपछि सोहीअनुसार प्रक्रिया अघि बढाइएको बताए।