देउवालाई महाधिवेशनको प्रमुख अतिथि बनाउने गगनको तयारी

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

 

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवालाई आगामी महाधिवेशनको प्रमुख अतिथि बनाएर सहभागी गराउने प्रयास भइरहेको बताएका छन्। थापाले असोज १६ गतेदेखि सुरु हुने पार्टीको महाधिवेशनमा कांग्रेसको विभिन्न पुस्तालाई समेटेर अघि बढ्ने पार्टीका रूपमा विकास गर्नुपर्ने बताए।

‘म निवर्तमान सभापति आदरणीय नेता शेरबहादुर देउवालाई असोजको १६ गतेदेखि सुरु हुने पार्टीको अधिवेशनमा प्रमुख अतिथि बनाएर सहभागी गराउने कोसिस गरिरहेको छु। उहाँले त्यो गर्नुहुन्छ भन्ने म अहिले पनि विश्वास राख्छु,’ थापाले भने।

थापाले पार्टीभित्र विचार र मतभिन्नता हुनु स्वाभाविक भएको भन्दै त्यसलाई साझा हितका लागि छलफलमार्फत समाधान गर्नुपर्ने बताए। पार्टीलाई परिवारसँग तुलना गर्दै उनले फरक पुस्ता र फरक विचारका नेताबीच खुला छलफल र सहकार्य आवश्यक रहेको धारणा राखे।

‘हिजो के भएको थियो, कसले हिजो कुन बेला कहाँ थियौँ, के बोल्यौँ भन्ने कुरा सबैले बिर्सनुपर्छ। कसैले गलत मनसाय राखेर त्यो कुरा गरेका थिएनौँ। हामीले आफ्नो ठाउँबाट यो ठीक होला भनेर गर्‍यौँ। अहिले एक ठाउँमा आएका छौँ,’ उनले भने।

उनले आफूभन्दा २० देखि ३० वर्ष पछाडिको पुस्तालाई नेतृत्वमा ल्याउने विषयमा आफूले सोचिरहेको बताए। नयाँ पुस्तालाई अवसर दिनुका साथै अग्रज पुस्ताको अनुभव र योगदानलाई पनि सम्मान गरेर अघि बढ्नुपर्ने उनको भनाइ छ।

‘मभन्दा पछाडिका मान्छेहरू, मभन्दा पनि २०–३० वर्ष पछाडिको मान्छेलाई यो पटक नेतृत्वमा लिएर आउनुपर्छ। मभन्दा ३० वर्ष कमको मान्छेलाई नेतृत्वमा कसरी ल्याउने भन्ने सोचिरहेको छु,’ थापाले भने।

उमेरका आधारमा पुरानो पुस्तालाई अस्वीकार गर्ने वा नयाँ पुस्तालाई योग्य ठान्ने प्रवृत्ति कांग्रेसको राजनीति हुन नसक्ने उनको भनाइ छ। जात, भाषा र समुदायलाई जोडेर अघि बढेको कांग्रेसले अब उमेर र पुस्तालाई पनि जोड्ने राजनीति गर्नुपर्ने उनले बताए।

‘कांग्रेसको पोलिटिक्स भनेको जसरी जातजाति, भाषाभाषी जोडेको छ, उमेर समूहलाई पनि जोड्ने राजनीति हुनुपर्छ,’ थापाले भने।