लैंगिक तथा यौनिक अल्पसंख्यक बालबालिकाको विषय कानुनमा समेटिनु ऐतिहासिक उपलब्धि : भूमिका श्रेष्ठ

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

प्रतिनिधिसभा सदस्य भूमिका श्रेष्ठले हरेक बालबालिकालाई आफ्नो पहिचानसहित सुरक्षित र सम्मानित भएर बाँच्न पाउने वातावरण बनाउनुपर्ने बताएकी छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ माथिको छलफलमा बोल्दै श्रेष्ठले बालबालिकालाई पहिचानकै कारण समाजबाट लुक्नुपर्ने अवस्था अन्त्य गर्नुपर्ने बताइन्।

उनले संशोधन विधेयकमा पहिलो पटक लैंगिक तथा यौनिक अल्पसंख्यक बालबालिकाको विषय कानुनमै समावेश गर्न लागिएको भन्दै यसलाई सकारात्मक र ऐतिहासिक उपलब्धिका रूपमा लिएको बताइन्। यसका लागि सरकार तथा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई धन्यवाद दिइन्।

श्रेष्ठले लैंगिक तथा यौनिक अल्पसंख्यक बालबालिकालाई पहिचानकै कारण समाजबाट लुक्न बाध्य पार्ने तथा कन्भर्जन थेरापीजस्ता हानिकारक अभ्यासमा लैजाने कार्य रोक्नुपर्ने बताइन्।

‘हामीले बालबालिकालाई उनीहरूको पहिचानका कारण समाजदेखि लुकेर बस्नुपर्ने र कन्भर्जन थेरापीजस्ता हानिकारक अभ्यासमा लगाउने अवस्थाबाट जोगाउनुपर्छ। उनीहरूलाई आफ्नो पहिचानसहित गर्वका साथ बाँच्न सक्ने वातावरण सिर्जना गर्नुपर्छ,’ उनले भनिन्।

श्रेष्ठले घरपरिवार, विद्यालय र समाजमा लैंगिक तथा यौनिक अल्पसंख्यक बालबालिकामाथि हुने बुलिङ, भेदभाव, अपमान, दुर्व्यवहार र घृणाजन्य व्यवहारले उनीहरूको बालापन खोसिएको बताइन्।

विद्यालयमा हुने बुलिङलगायतका दुर्व्यवहारबाट बालबालिकालाई जोगाउन नसक्दा यस समुदायका कतिपय बालबालिकाले पढाइसमेत बीचमै छाड्नुपर्ने अवस्था रहेको उनको भनाइ छ। घरपरिवार र समाजबाट समेत उनीहरू बहिष्करणमा पर्ने गरेको उनले बताइन्।

श्रेष्ठले संशोधन विधेयकले यस्ता विषयलाई सम्बोधन गर्ने सकारात्मक प्रयास गरेको बताउँदै सबै बालबालिकाको सुरक्षित, सम्मानित र भेदभावरहित बालापन सुनिश्चित गर्न कानुनमा थप व्यवस्था आवश्यक रहेको बताइन्।

‘कुनै पनि बालबालिका आफ्नो पहिचानका कारण भेदभावमा नपरोस्, आफ्नो अस्तित्व लुकाएर बाँच्न बाध्य नहोस्। प्रत्येक बालबालिकाले आफ्नो पहिचानसहित सुरक्षित तथा सम्मानित जीवन बाँच्न पाउने गरी ऐन संशोधन गर्नुपर्छ,’ उनले भनिन्।