त्रिशुली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त गल्छी–देवीघाट–त्रिशूली सडकखण्ड अस्थायी मर्मतपछि सञ्चालनमा आएको छ भने रसुवागढीसम्मको आवागमन सुचारु गर्न विभिन्न स्थानमा बेलीब्रिज जडानको काम तीव्र पारिएको छ ।
नेपाल सरकारसँग पर्याप्त लम्बाइका बेलीब्रिज मौज्दात नभएपछि चीन, भारत र अमेरिका लगायतका देशबाट बेलीब्रिज ल्याएर जडान गर्न लागिएको हो । यद्यपि, बाढीले भत्काएका सडक र पुलको स्थायी पुनर्निर्माणका लागि भने ७३ अर्ब रुपैयाँभन्दा बढी लाग्ने प्रारम्भिक आकलन गरिएको छ ।भदौ १० गते आएको बाढीका कारण ६९ किलोमिटर सडक र ३७ वटा मोटरेबल पुलमा पूर्ण तथा आंशिक रूपमा क्षति पुगेको छ । सडक विभागका इन्जिनियर सौजन्य नेपालका अनुसार अवरुद्ध सडक खुलाउन तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गर्न कार्यदलहरू तीव्र रूपमा खटिएका छन् । हाल रसुवागढीसम्मको सडक छिटोभन्दा छिटो अस्थायी रूपमा सडक खुलाउने कार्य तीव्र रूपमा भइरहेको छ ।
अहिले गल्छी–देवीघाट–त्रिशूली खण्ड सडक अस्थायी मर्मत गरी सञ्चालनमा आएको छ । बाढीका कारण रातामाटे खण्डमा नदी कटान भई पूर्ण रूपमा क्षति भएको करिब १०० मिटर सडकमा सडक उत्खनन तथा नयाँ ट्रयाक खोल्ने कार्य सम्पन्न गरी यातायात सञ्चालन हुन थालेको सडक विभागले जनाएको छ ।
यस्तै ठुलोखोला खण्डमा जमेको करिब २ देखि ३ मिटर बाक्लो लेदो हटाई सडक सुचारु गरिएको थियो । ठुलोखोला–काशीटार–देवीघाट क्षेत्रमा थुप्रिएको पहिरो र लेदो पन्छाउने कार्यसमेत सम्पन्न भइसकेको छ । अब त्रिशूलीदेखि बेत्रावतीसम्मको सडक खुलाउने प्रक्रिया अघि बढेको छ । साथै विभिन्न स्थानमा बेलीब्रिज जडान गरी सडक खुलाउने कार्य भइरहेको विभागले जनाएको छ ।
- कहाँ–कहाँ जडान हुँदैछ बेलीब्रिज ?
बाढीले पूर्ण रूपमा क्षति गरेका ३३ पुलमध्ये तत्काल तीन स्थानमा बेलीब्रिज जडान गर्ने भनिए पनि अहिले १ स्थानमा मात्रै जडान सकिएको छ । नुवाकोटको देवीघाटस्थित तादी नदी, त्रिशूली बजार र बेत्रावती बजारमा बेलीब्रिज राख्ने जनाइएको थियो, तर अहिले सडक पुनर्निर्माणमा भएको कठिनाइका कारण सामान ढुवानी हुन नसकेपछि बेलीब्रिज जडान तीव्र रूपमा अघि बढ्न सकेको छैन ।
सडक विभागका अनुसार नुवाकोटको देवीघाटमा बेलीब्रिज निर्माण कार्य सम्पन्न भइसकेको छ भने बाढीले क्षति पुर्याएको कोल्पु खोलाको पुल अस्थायी मर्मत गरी यातायात सञ्चालन गरिएको छ । कोल्पु खोलाको पुल स्थायी मर्मतका लागि ठेक्का प्रक्रियासमेत अगाडि बढाइसकिएको छ । देवीघाटमा ६० मिटर लम्बाइको एक्रो ब्रिज जडान गरिएको छ । उक्त ब्रिज नेपाली सेनाले ५ दिनमै जडान गरेको हो । यी कार्य सम्पन्न भएसँगै गल्छीबाट देवीघाट हुँदै बट्टार, विदुर, त्रिशूली र गेर्खुसम्म सवारी आवागमन सहज भएको छ ।
यस्तै अब बेत्रावतीमा बेलीब्रिज जडान कार्य सुरु गरिएको छ । बेलीब्रिज राख्न जग (फाउन्डेसन) निर्माण सुरु भइसकेको र आवश्यक सामग्री ढुवानीको काम थालिएको इन्जिनियर नेपालले जानकारी दिए । बेत्रावतीमा ७६ मिटरको बेलीब्रिज आवश्यक पर्ने देखिएको छ । यो काम सम्पन्न भएपछि सदरमुकाम र बेत्रावतीबिचको सडक सम्पर्क पुनः जोडिनेछ ।
इन्जिनियर नेपालका अनुसार सडक विभागको टोली अहिले बेत्रावती क्षेत्रमा केन्द्रित छ । बाढीले बेत्रावती क्षेत्रको करिब ४ किलोमिटर सडक पूर्ण रूपमा क्षति भएको छ । त्यसमध्ये हालसम्म ३.२ किलोमिटर खण्ड खुलाइसकिएको छ । बाँकी ८०० मिटर सडक मर्मत भइरहेको जनाइएको छ । उक्त क्षेत्र जटिल भूगोल भएकाले मर्मतमा लामो समय लागेको विभागले जनाएको छ । यस्तै फलाखु (बेत्रावती) खोलामा बेलीब्रिज जडान गर्न काम भइरहेको छ ।
- त्रिशूली बजारमा बेलीब्रिजको प्राविधिक अध्ययन
त्रिशूली बजारमा अर्को बेलीब्रिज जडान गर्न प्राविधिक अध्ययन भइरहेको छ । पहिले ६० मिटर लम्बाइको पुल रहेको उक्त स्थानमा बाढीले कटान गरेपछि खोलाको चौडाइ १२० मिटरभन्दा बढी पुगेको छ । खोला धेरै फराकिलो भएकाले कत्रो, कस्तो प्रविधिको र कुन स्थानमा बेलीब्रिज राख्ने भन्नेबारे छलफल भइरहेको र छिट्टै अन्तिम टुङ्गो लाग्ने इन्जिनियर नेपालले बताए ।
हाल मुख्य राजमार्ग मर्मतको चरणमा रहेका स्थानहरूमा टोखा सडक, धादिङबेँसी जाने बाटो तथा त्रिशूली पारिपट्टिका वैकल्पिक मार्गहरू प्रयोग गरी आवागमन चालु राखिएको छ ।
सडक विभागसँग मौज्दात रहेका तथा भारत र चीनबाट प्राप्त भएका बेलीब्रिजहरू प्राथमिकताका आधारमा क्षतिग्रस्त सडक खण्डहरूमा जडान गरिँदै आएको विभागले जनाएको छ । अहिले सडक विभागसँग ५० मिटरका १० वटा बेलीब्रिज मौज्दात छन् । तर बाढीले क्षति पुर्याएका स्थानमा ७० मिटरभन्दा माथि लम्बाइका बेलिबिज आवश्यक छ । त्यसैले विभिन्न दातृ निकायसँग बेलीब्रिज माग गरेको सडक विभागले जनाएको छ ।
सडक विभाग, पुल महाशाखाका प्रमुख ललिजन खनालले सडक विभागसँग हाल आफ्नै मौज्दातमा रहेका बेलीब्रिज पर्याप्त लम्बाइका नभएको जानकारी दिए । ‘हामीसँग स्टकमा भएको ५० मिटरको मात्र हो, त्यो हाल्ने ठाउँ नै छैन,’ उनले भने ।
पुल जडानको कार्यप्रगतिबारे जानकारी दिँदै प्रमुख खनालले यसअघि नेपाली सेनाले देवीघाटमा ६० मिटर लम्बाइको बेलीब्रिज जडान गरिसकेको बताए । अब बेत्रावतीमा ७६ मिटर लम्बाइको बेलीब्रिज राखिनेछ । बेत्रावतीमा पहिले बाटो छिचोल्ने काम भइरहेको र बाटो खुलेको ८ देखि १० दिनभित्रै सेनाले सो बेलीब्रिज जडान गरिसक्ने उनले बताए ।
बेत्रावतीको तयारीबारे प्रमुख खनालले भने, ‘बेत्रावतीमा चाहिँ पहिला बाटो छिचोल्नु पर्यो । बाटो छिचोल्न अलिकति टाइम लाग्छ । त्यहाँ बाटो छिचोलिएको ८–१० दिनभित्रैमा बेलीब्रिज जडान हुन्छ । अस्ति आर्मीले देवीघाटमा गर्नुभएको थियो नि, उहाँहरूले त्यही स्पिडमा गर्नुहुन्छ ।’
पुल महाशाखाका प्रमुख खनालले चीन, अमेरिका, युएई र भारतले नेपाललाई बेलीब्रिज सहयोग गर्ने प्रतिबद्धता जनाएको बताएका छन् ।
‘अहिलेसम्म ठ्याक्कै हाम्रो साइटमा कुनै पनि दाताको बेलीब्रिजहरू आएको छैन । हामीलाई चाइना, अमेरिका, युएई र भारत सबैले प्रतिबद्धता जनाएका छन् । भारतको ७० मिटरको एउटा बेलीब्रिज हेटौँडामा आइसक्यो,’ उनले भने । उनले भारतबाटै आउने अर्को बेलीब्रिज पनि कोलकाताबाट ढुवानी (सिपमेन्ट) भएको जानकारी त्यहाँस्थित सेकेन्ड सेक्रेटरीबाट म्यासेजमार्फत आएको बताए ।
यसैगरी चीनबाट १०० मिटर कुल लम्बाइको बेलीब्रिज सहयोग गर्ने कुरा भए पनि नेपालले बिचमा टेको (सपोर्ट) नहाल्ने एकल स्पानको मागेको तर त्यस्तो खालको उपलब्ध नभएको उनले बताए । चीनबाट अन्य बेलीब्रिज आउने क्रममा रहेको उनको भनाइ छ ।
अमेरिकाले भने हवाईजहाजबाटै बेलीब्रिज पठाइदिने र अमेरिकी सेनाको समूह तथा नेपाली सेनाको सहकार्यमा हस्तान्तरण एवं आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउने जनाएको छ । यसबारे रक्षा मन्त्रालयमार्फत प्रक्रिया अगाडि बढ्ने खनालले बताए । नेपालले अमेरिकासँग १०० मिटर वा सोभन्दा लामो बेलीब्रिज माग गर्दै विवरण पठाइसकेको भए पनि आउने विषय अझै निश्चित भइनसकेको उनले स्पष्ट पारे ।
- सडक पुल पुनर्निर्माणमा ७३ अर्बभन्दा बढी लाग्ने आकलन
तत्काल यातायात खुलाउने काम तीव्र पारिए पनि बाढीले भत्काएका संरचनाहरूको दीर्घकालीन पुनर्निर्माण भने चुनौतीपूर्ण देखिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सम्बद्ध निकायहरूले तयार पारेको ‘विपद्को द्रुत क्षति तथा आवश्यकता आकलन’ (आरडीएनए) प्रतिवेदनअनुसार क्षतिग्रस्त सडक र पुलहरूको स्थायी पुनर्निर्माण एवं पुनर्स्थापनाका लागिमात्रै ७३ अर्ब ३४ करोड रुपैयाँ बजेट आवश्यक पर्ने प्रारम्भिक आकलन गरिएको छ ।
विपद्का कारण ३७ वटा मोटरेबल पुल प्रभावित भएका छन्, जसमा ३३ वटा पूर्ण रूपमा बगेका छन् भने ४ वटामा आंशिक क्षति पुगेको छ । त्यस्तै, ग्रामीण जनजीवनको आधार मानिने ६८ वटा झोलुङ्गे पुलमध्ये ५३ वटा पूर्ण रूपमा नष्ट भएका छन् । यी संरचनाहरूको दीर्घकालीन पुनर्निर्माणका लागि राज्यले ठुलो स्रोतसाधन जुटाउनुपर्ने भए पनि हाललाई अस्थायी तथा द्रुत पुनर्स्थापनामार्फत नागरिकलाई सहज यातायात सेवा दिन केन्द्रित रहेको सडक विभागले जनाएको छ ।